काठमाडौं ।  साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ लोकार्पण गरिएको छ ।

शुक्रबार ठमेलस्थित चिवहालमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा तथा कृतिकार श्रेष्ठले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भुवनहरि सिग्देलले नेपाली साहित्यमा तेजप्रकाश श्रेष्ठको योगदान उल्लेखनीय रहेको बताउँदै उहाँको सिर्जनात्मक सक्रियता प्रेरणादायी भएको धारणा व्यक्त गर्नुभयो । नियात्रा र संस्कृतिका क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनुभएका श्रेष्ठको साहित्यिक समर्पण प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

अर्का वक्ता श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा, साहित्य र संस्कृतिका क्षेत्रमा तेजप्रकाश श्रेष्ठले पुर्‍याउनुभएको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उहाँको कविताप्रतिको लगाव पनि उत्तिकै सशक्त रहेको धारणा राख्नुभयो ।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै प्रा. डा. कपिल लामिछानेले सङ्ग्रहका कवितामा द्वन्द्व, सन्त्रास, कोरोना महामारी, दिवङ्गत आफन्तप्रतिको श्रद्धा तथा सांस्कृतिक चेतनाजस्ता विषयहरू समेटिएको बताउनुभयो । उहाँले कविका संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानको प्रभाव कवितामा पनि देखिएको उल्लेख गर्नुभयो ।

समालोचक प्रदीप सापकोटाले सशस्त्र द्वन्द्वकालीन त्रासदी, सर्वसाधारणको मनोदशा, नेपाली राजनीतिका विकृति, जनताका निराशा, प्राकृतिक विपत्ति, मानवीय संवेदना, प्रकृतिप्रेम, पर्यावरणीय चेतना तथा ह्रासोन्मुख संस्कृतिलाई कविले प्रभावकारी रूपमा प्रस्तुत गरेको धारणा राख्नुभयो । उहाँका अनुसार सङ्ग्रहका कतिपय कवितामा बिम्ब, प्रतीक र अलङ्कारको सशक्त प्रयोग गरिएको छ ।

कृतिकार तेजप्रकाश श्रेष्ठले आफ्ना कविताबारे विनम्र टिप्पणी गर्दै साथीभाइको प्रोत्साहनका कारण कविताहरू पुस्तकका रूपमा प्रकाशित भएको बताउनुभयो ।

कार्यक्रममा कविहरू सुमन थापा, सङ्गम, विश्व सिग्देल तथा अग्रज सञ्चारकर्मी एवं लेखक राजेश खनालले सङ्ग्रहका कविता वाचन गर्नुभएको थियो ।

सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रामसुन्दर देउजाले गर्नुभएको थियो । कार्यक्रममा पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‘जाँगरको कल्पवृक्ष’ सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो ।