स्याङ्जा । पुतलीबजार प्रज्ञा–प्रतिष्ठान, स्याङ्जाले कला, साहित्य तथा सङ्गीत क्षेत्रमा योगदान पुर्याएका तीन स्रष्टालाई ‘पुतलीबजार प्रज्ञा–सम्मान’ प्रदान गरेको छ ।
प्रतिष्ठानले कवि अनन्त श्रेष्ठ, समालोचक असफल गौतम तथा लघुकथाकार लक्ष्मी रेग्मी खनाललाई जनही २० हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।
पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ तथा सदस्य–सचिव बाबुराम बरालले सम्मान अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले प्रज्ञा–प्रतिष्ठान स्थापना भएदेखि नै नगरपालिका स्रष्टा र सिर्जनाको सम्मानमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने धारणा व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गर्दै अनन्त श्रेष्ठले पुतलीबजारको साहित्यिक तथा पर्यटकीय प्रवर्द्धनमा योगदान पुर्याएको, लक्ष्मी रेग्मी खनालले लघुकथा विधा र नारी लेखनलाई सशक्त बनाएको तथा असफल गौतमले समालोचनाका माध्यमबाट सिर्जनशीलताको विकासमा योगदान दिएको उल्लेख गर्नुभयो ।
धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले स्रष्टाको सम्मान गर्नु भनेको नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्नु भएको बताउनुभयो ।
आनन्द आश्रम स्याङ्जाका संस्थापक तथा पूर्वमन्त्री त्रिलोचन ढकालले यस्ता कार्यक्रमले नेपाली साहित्यको विकास र स्रष्टाको सिर्जनशीलतालाई थप ऊर्जा प्रदान गर्ने धारणा राख्नुभयो ।
प्रतिष्ठानका सदस्य–सचिव बाबुराम बरालले हरेक वर्ष कला, साहित्य तथा सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने फरक–फरक विधाका स्रष्टालाई सम्मान गर्ने परम्पराअनुसार यस वर्ष कवि, समालोचक र लघुकथाकारलाई छनोट गरिएको जानकारी दिनुभयो ।
उपकुलपति दुर्गाबहादुर शाहले प्रतिष्ठानले स्थापनाकालदेखि नेपाली साहित्यको श्रीवृद्धिका लागि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
सम्मानित समालोचक असफल गौतमले प्रतिष्ठानले आफूहरूमाथि राखेको विश्वासलाई जोगाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कवि अनन्त श्रेष्ठले सम्मानले थप उत्साह र ऊर्जा प्रदान गरेको बताउनुभयो भने लघुकथाकार लक्ष्मी रेग्मी खनालले माइतीभूमिमा प्राप्त सम्मानलाई अविस्मरणीय क्षणका रूपमा स्मरण गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ सदस्यहरू हिमलाल पुरी, रामबहादुर परियार, मञ्जु थापा, राजेन्द्र श्रेष्ठलगायतले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभएको थियो ।
सो अवसरमा चिन्तु गिरी, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी काफ्ले, सूर्यप्रसाद खनाल, मोतीप्रसाद अधिकारी, राजेन्द्र थापा, चण्डीप्रसाद सुवेदी, पुष्पराज अधिकारी, अदिती गैरे, सुशान्त रेग्मी, भेनाज बेगम तथा प्रकाश खनाललगायतले रचनावाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शोभा बस्यालले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३० जेष्ठ २०८३, शनिबार 








