पाेखरा । नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने लेखक कृति पुरस्कार -२०७९ गजलकार प्रदीप रोदनको कृति ‘मफलर’ लाई प्रदान गरिने भएको छ । संस्थाको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै सो निर्णय गरेको हो ।

कार्यसमितिले २०७९ सालमा गण्डकी प्रदेशभित्रका लेखकद्वारा प्रकाशित कृतिहरू अध्ययन गरी प्रारम्भिक चरणमा उत्कृष्ट ६ कृति छनोट गरी गत महिना पुरस्कार छनोट समितिलाई हस्तान्तरण गरेको थियो ।  प्रारम्भिक चरणमा छनोटमा परेका कृतिहरू दिलीप ढकालको उपन्यास ‘छलाङ’, अशोक थापाको कथासङ्ग्रह ‘सन्तापको धून’, प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, जनार्दन दाहालको लघुकथासङ्ग्रह ‘भुवा’, मिलन समिरको कवितासङ्ग्रह ‘ प्रिय दुश्मन’ र सुरज उपाध्यायको बाल कवितासङ्ग्रह ‘साइकल’ थिए ।

छनोटमा परेका कृतिहरूमध्ये  विषय, शिल्प, संवेदना, नवीनता एवम् विविध आधारमा ‘मफलर’ कृति छनोटमा परेको छनोट समितिका संयोजक डा. भूमिराज बस्ताकोटीले जानकारी दिए । पुरस्कार छनोट समितिमा डा. भूमिराज बस्ताकोटी, सञ्जीव पौडेल, रीतादेवी कँडेल र पदेन सदस्यमा संस्थाका अध्यक्ष र सचिव रहेका थिए ।

मफलर रोदनको पहिलो कृति हो ।  यसमा गजलका साथमा फर्दहरू पनि सङ्कलित छन् ।

मफलरले साहित्यपोस्टले हरेक वर्ष लेखकको पहिलो पुस्तकलाई प्रदान गर्ने ५० हजार राशिकाे ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०७९’समेत प्राप्त गरेकाे छ ।

त्यसैगरी, वार्षिक रूपमा संस्थाले गर्ने ‘स्रष्टा सम्मान -२०७९’ बाट अग्रज साहित्यिक एवम् सामाजिक व्यक्तित्व विश्वप्रेम अधिकारीलाई सम्मान गरिने भएको छ ।

स्याङ्जामा रहेर विगत ६ दशकदेखि अनवरत रूपमा साहित्यसाधनामा तल्लीन छन् । कविता, गीत, गजल, निबन्ध, कथा जस्ता विविध विधामा कलम चलाउँदै आएका अधिकारी स्याङ्जा जिल्लाको राङ्खोलामा वि.सं.२००३ सालमा जन्मेका हुन् । हाल उनी करिब  तीन दशकदेखि निरन्तर प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘रजस्थल’ को  प्रधान सम्पादक हुन् ।  उनले थुप्रै पुरस्कार र सम्मानहरू प्राप्त गरिसकेका छन् ।

यही माघ महिनामा एक समारोह आयोजना गरी पुरस्कार प्रदान एवम् सम्मान अर्पण गरिने संस्थाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले जानकारी दिइन् ।

संस्थाले यसअघि सरोज अर्यालको उपन्यास ‘दिव्याञ्जली’लाई २०७५ को, डा. मतिप्रसाद ढकालको ‘महाभारतमा के छ ?’ कृतिलाई २०७७को, दीपक समीपको ‘अक्षर अक्षरमा देश’ लाई २०७८ सालको लेखक कृति पुरस्कार प्रदान गरिसकेको छ । संस्थाबाट हालसम्म स्व. तेजनाथ घिमिरे, केशवराज पराजुली, डा. भूपति ढकाल ‘कमल’ सम्मानित भइसकेका छन् ।

२०७६ सालको पुरस्कार भने कोभिडका कारणले प्रदान गर्न नसकिएको संस्थाका सचिव प्राञ्जलले जानकारी दिए ।