न्युयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा साहित्यकार कमला प्रसाईँका तीन कृति लोकार्पण गरिएको छ ।

न्युयोर्कस्थित नेपाली भान्छाघरमा आयोजित कार्यक्रममा प्रसाईँका ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह), ‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) संयुक्त रूपमा सार्वजनिक गरिएको हो ।

अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष जानुका वस्ती ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत प्रेमबहादुर बुढाथापा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम नेपाली र अमेरिकी राष्ट्रिय गानसँगै शुरू भएको थियोख ।

कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली साहित्य पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, नेपाल प्रज्ञा–प्रतिष्ठानकी सचिव सन्ध्या पहाडी, अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजा तथा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राम खत्रीलगायतको उपस्थिति रहेको थियो ।

अनेसास न्युयोर्क च्याप्टरकी उपाध्यक्ष नदिया लिबाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संस्थाका सचिव विष्णुहरि भण्डारीले साहित्यकार कमला प्रसाईँको जीवनयात्रा, साहित्यिक योगदान तथा सिर्जनात्मक गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

लोकार्पणपछि साहित्यकार आनन्द श्रेष्ठ, किशनसिंह धामी, किशोर सुब्बा तथा प्रा. डा. गोविन्द कोइरालाले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । वक्ताहरूले कृतिहरूमा अभिव्यक्त मानवीय संवेदना, सामाजिक यथार्थ र भाषिक सौन्दर्यको प्रशंसा गर्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै कृतिकार कमला प्रसाईँले आफ्ना सिर्जनामा जीवनका यथार्थ भोगाइ, अनुभूति, सङ्घर्ष र संवेदनालाई कविता, गीत तथा नाटकमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले कृतिको प्रकाशनदेखि लोकार्पणसम्मको यात्राबारे पनि जानकारी दिनुभएको थियो ।

सो अवसरमा कलाकार वीरेन्द्र हमाल, समाजसेवी सोमनाथ घिमिरे, शकुन ज्ञवाली, सीता खरेल, लक्ष्मी श्रेष्ठ, पूनम काफ्ले, कृष्ण आचार्य, गोविन्द लामा, पुरुषोत्तम बजगाईँलगायतले कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

करिब चार घण्टा चलेको कार्यक्रमको अन्त्यमा अध्यक्ष जानुका वस्ती ढकालले सहभागी सम्पूर्ण अतिथि, साहित्यकार, पत्रकार तथा साहित्यप्रेमीप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा अनेसास न्युयोर्क च्याप्टरले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका थिए ।