“खाना पाक्यो ? अब खानु पर्यो । ?” हरिचन्द्र बाले दैला मुनीको बारीमा झार उखेल्दै भने ।

“पाक्यो । अब छिटो हात खुट्टा धुनुहोस् ।” भन्दै कुन्ती आमाले आँगनको डिलको पर्खालमा एक अम्खोरा पानी राखिदिइन् ।

उनीहरुको घर अलि अग्लो ढिस्कोमा भएको हुनाले अन्य घरको कौसी जत्तिकै उचाइमा उनीहरुको आँगन थियो । त्यसैले बाटोमा आएको गएको घरको आँगनको डिलबाट नै देखिन्थ्यो । भित्र पस्ने बेलामा बाटोको चौतारीमा एकजना किशोर बसिरहेको देखिन् । चौतारी घरबाट नजिकै थियो । उनी उसलाई हेरिरहिन् ।

“म हातखुट्टा धोएर आइसकेँ यो अझ भित्र पसेकी छैन । ल खाना पस्क ।” हरिचन्द्र बाले भन्नु भयो ।

“हेर्नु न उता चौतारीमा त्यो को रहेछ ? भात खायो कि खाएको छैन होला ?” आमाले सोधिन् ।

“बाटोमा को को हुन्छ्न् । सबैलाई चिन्न सकिन्छ र ?” भनेर भने पनि हरिचन्द्र बालाई पनि जान्ने उत्सुकता बढ्यो ।

उनी सरासर तगारो नाघेर बाटोको चौतारीमा पुगेर आए ।

“को रहेछ ?” आमाले सोधिन् ।

“माथिल्लो गाउँका नरबहादुरका भान्जा रहेछ्न् । मामाघर जाँदै गरेका साथिलाई कुरेर बसेका रहेछ्न् ।” हरिचन्द्र बाले भन्नु भयो ।

“हाम्रो कान्छाको उमेरका रहेछन् है । विदेशमा के गर्दै होला कान्छो पनि ।” कुन्तीले छोरोलाई सम्झिन् ।

हरिचन्द्र बा केहि बाेलेनन् मात्र कुन्तीलाई हेरिरहे ।