“ओहो ! बिहान पो भइसकेछ ।” बाहिरतिर हेर्दा त हिमालको टुप्पोमा घाम पो मुस्कुराएको देखे उनले ।

श्रीमती हतारिँदै पिँढी लिपपोत गर्न थालिन् । गाईगोठतिर उनी पनि व्यस्त भए । नियमित काम गरेर सक्दा आँगनमा छ्याङ्गै घाम पो आइसकेको थियो।

चारैतिर सुन्दर दृश्य, सुन्दर हरियाली । पहाडमा घडी हेर्ने चलन हुँदैनथ्यो ।चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज र भाले बास्दा उज्यालो भएको सङ्केतले समयको ज्ञान हुन्थ्यो । तलतिर खहरे खोलाहरु बग्दा मानौँ चराहरु छमछमी नाचेको जस्तो आभास हुन्थ्याे।

छोराछोरी हतारिँदै स्कुलतर्फ लागे। यस्तै हो गाउँले जीवन, घाँस दाउरा, खेतबारी, फुर्सदको समयमा चौतारीमा बसी राजनीतिक गफगाफ । समय बितेको थाहा नै पाइँदैनथ्यो।

पहाडतिर उच्च शिक्षा हासिल गर्न स्तरीय विद्यालय थिएन। प्रायः सबै तराईमा झर्थे। परिवारसहित म पनि तराईतिर झरेँ ।
दिनभरिको यात्राले थकाइ लागेको, खाना खाएर हामी विश्राम गर्यौं।

भोलिपल्ट बिहान म ढिलो पो उठेछु। न चराचुरुङ्गीको चुरचुर आवाज, न त हिमाल मुस्कुराएको । मेरो आँखाले ती दृश्यहरु कतैबाट देखिनँ । कतातिर पूर्व, कतातिर पश्चिम, मलाई ठम्याउन पो गाह्रो भो। पानी खान भनी भान्सातिर गएँ, त्यो पानी पहाडको जस्तो निर्मल गंगाजल थिएन।

साँझतिर बाटोमा टर्चलाइट बोकेर हिँड्नुपर्ने, सर्पको डर । रातमा पनि झुल लगाएर सुत्नुपर्ने, डेङुको डर । घरहरू पनि खचाखुचुक्क ।

यता तराईमा जस्तो स्वास्थ, रोजगार, शिक्षा, यातायात सम्पूर्ण सुविधा हाम्रो पहाडतिर भएको भए !