समय त बौलाएछ ।

मेरो कानमा पर्नासाथ म झस्किएँ । मलाई मर्नुसँग भन्दा बढी बौलाउनुसँग डर लाग्छ । त्यसैले म झस्किनु मात्र होइन डराएँ पनि । कसरी बौलायो त समय ! पत्याउन पनि गाह्रो । नपत्याउन पनि गाह्रो । नढाँट्ने मान्छेको मुखबाट सुनेपछि कसरी नपत्याउनु । कसरी बौलायो होला त्यो मान्छे ! सम्झेर घोरिन बाध्य भएँ म । हुन त आजभोलि बौलाउन गाह्रो छैन । अर्काकै पीडाले पनि मलाई कहिलेकाहीँ आफ्ना पीडाले भन्दा बढी संवेदनशील बनाउँछ । आँखाको तलाउ थाहै नपाई आँसुले भरिएछ ।

४/५ वर्ष पहिले उसले मलाई फोन गरेथ्यो । बिर्सियो भन्ठानेको बिर्सेको रहेनछ । काँबाट कसले दियो मेरो नम्बर । निक्कै रन्थनिएर फोन गरिराथ्यो । हामी त सँगै पढेका पो त बिर्सेको ? आफूले बिर्से पनि मैले ता बिर्सेको छैन नि । यस्तै के के १०/१५ मिनेट मोबाइल कानमा राखेर गन्थन गरेथ्यो । म झन् के बिर्सन्थेँ । परिस्थितिले हामीलाई केही समय टाढा बनाएको थियो । ऊ मेरो स्कुल पढ्दाको अति मिल्ने साथी । सानामा ऊ र म मिलेर हामीले राम्रा-नराम्रा, फटाइँ काम पनि कति गर्‍यौँ होला । केटाकेटी छँदाको कुरा । सम्झन लायकका कुरा पनि धेरै छन् मेरा ऊसँग । मैले धेरै माया गरेको बाल्यकालको एउटा साथी पनि हो ऊ मेरो र म उसको । त्यस्तो कुरा सुन्ने बित्तिकै मुटु नै हल्लिने गरी पहिरो गयो मेरो मनमा ।

त्यसपछि हाम्रो भेटघाट पनि भएन । फोनमा कुराकानी पनि भएन । उसले पनि कल गरेन । मेरो पनि पहिलेको मोबाइल सेट बिग्रियो । अनि उसको नम्बर पनि मसँग थिएन । पछि मैले सुनेँ । एउटा सानो दुर्घटनामा परेर ऊ जेल गएछ । गाडी दुर्घटनामा परेर । ऊ सानैदेखि अलि जिद्दी स्वभावको थियो । आफूले नगरेको गल्ती सियोको टुप्पो जति पनि नस्विकार्ने । हामी भने परिबन्धले परिसकेपछि कुनै बेला सानातिना गल्ती ह्याकुलाले मिचेर भए पनि अगि बढ्थ्यौँ ।

उसको गल्ती नभए पनि लाइसेन्स नभएपछि कि त मोटो रकम बुझाउनु पर्ने कि त जेलै जानु पर्ने भएछ । उसले मोटो रकम बुझाउनु भन्दा जेल जीवनलाई नै रोजेछ । उसका पछि पनि कोही भइदिएको भए बिचराले त्यति सानो गल्तीमा त्यति ठुलो सजाय भोग्नु पर्ने पनि थिएन होला । ५ वर्ष जेल जीवन बिताएर निस्केकै दिन बाँसको तामा जस्तो १८ वर्ष पुगेको उसको छोराको गाडी दुर्घटनामा परेर मृत्यु भएछ । मेरो कानमा परेको कुरा त त्यसपछिको रहेछ । अनि के नबौलाओस् । मानिसलाई पेल्न थालेपछि नियतिले पनि पेल्नसम्म पेल्दो रहेछ ।