मजदुरी गरेर हातमुख जोर्न पर्ने कान्छा र च्यान्टीको जोडी भेट भयो कि झगडा गरिहाल्थे । एउटाले अर्कोको मुखै देख्न नहुने जस्तो । त्यसको कारण कान्छाको तन्काउने बानी थियो । मजदुरीबाट कमाएको ज्याला च्यान्टीले देख्न नै पाउँदिनथी। बाटैमा साथीभाइ सँग भट्टी पस्दथ्यो ।उसको उज्यालो अनुहार देख्दा साथीहरु पक्का पनि यसको खल्ती गह्रौँ छ भनेर पछि लाग्दथे । ऊ पनि छुच्याइँ नगरिकन खल्ती रित्याउँथ्यो।

नसाले चुरभएर ढुन्मुनिएर कतै लढ्दथ्यो । कति चोटि त रगताम्य भएर घर पुग्दथ्यो । कुनैबेला लडखडाउँदै बाटैदेखि च्यान्टीलाई तथानाम गाली गर्दै “आज कतिजना नाठोसँग रमाइस् हँ ” भन्दै भुत्याउँथ्यो ।

ऊ शान्त तरिकाले माया गर्दै । मुख पुछिदिन्थी, घाउ सफा गरिदिन्थी ।

कान्छा जन्मेकै दिन आमा मरेकी, ऊ दुई बर्षको हुँदा लाहुर पसेको बाबुको अत्तोपत्तो नभएको उसले गाउँलेहरुबाट सुनेकी थिई।

च्यान्टी अनपढ भए पनि ऊ दयालु, मायालु र परोपकारी थिई ।अरुको त ऊ सक्दो सेवा गर्दथी भने आफ्नो लोग्नेलाई नगर्ने त कुरै भएन ।असाध्य माया गर्दथी ।आफू मरिमेटेर परिश्रम गरेर कमाएको पैसा पुग्ने हुँदैन थियो । तर पनि लोग्नेलाई दुख दिन्न थिई । “विचरा टुहुरो” भन्ने हेक्का हर्दम मनमा राख्दथी।

दयालु गाउँलेहरू आपत परेको बेला सापट दिएर उसको गर्जो टारिदिन्थे । एक दिन उसलाई पनि हनहनी ज्वरो आयो । आफू बिरामी रिनको भारी टाउकोमा । लोग्नेले कमाएर तिर्ने सम्भव नै थिएन ।

त्यसैबीच शहरमा ठुलो धनरासीको रिन तिर्न नसकेर मट्टीतेल खन्याएर आत्महत्या गरेको । अनि उसले लिएको सबै रिन माफ भएको । उसको श्रीमतीलाई  ठाउँ-ठाउँबाट चन्दा आएरको खबर उसले सुनेकी थिई । रिनको पिडाले भतभती भएकी ऊ ढिँडो पकाउन ल्याएको एक लिटर मट्टीतेलको सिसी र सलाई पटुकामा छ कि छैन पक्का गरेर जङ्गलतिर लागी ।