“हामी प्रगतिशील व्यक्तिले सधैँ भिन्न काम गर्न सक्दैनौँ । बरु उही काम भिन्न तरिकाले गर्दछौँ । कहाँ परम्परा मानेर हुन्छ ?” प्रगतिशील आवाजमा बिलासमान मञ्चबाट चिच्याए । सबैले उनको आवाजलाई तालीले स्वागत गरे । बुर्जुवा शिक्षा नपढ्न अनुरोध गरे । प्राविधिक शिक्षाको हुइँया ठोके । परिवर्तनको विषय सबै जिल्लावासीले मन पराए ।
यति सम्म त ठिक थियो । भोट बैँकको लागि जे पनि गरे । नेपालका जनता तथा आदिवासीलाई विभाजन गर्न विभिन्न तानाबाना बुने । नेपालको भाषा तथा आदिवासीका काल्पनिक इतिहास खडा गरे । भाषा स्वयं विवादित गरे । नयाँ नेपाल तथा समाजवादको हौवा पिटे । लुट्नु सम्म लुटे र आर्थिक अवस्था दयनीय अवस्थामा पुर्याए ।
अंग्रेजी नयाँ वर्षको दिन थियो । उनी पद लुप्त व्यक्तित्व । पदमा रहन चाहन्थे । बिलासमान मञ्चमा प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए । सुट बुटमा उनी मञ्चमा पुगे । पुरस्कार दिँदै भने, “ढर्रा बनेर काम छैन ।”
सन्त कवि सालिनसँग मञ्चमा पुगे । शिरको टोपी मिलाए । राष्ट्रिय टोपी दिवसप्रति गर्व गर्दै भने, “आफू केही नगर्ने विदेशका पकेटमाराहरु शीर उचालेर हिँड्दा आरिस गर्छन् । हामी नेपाली वीरका सन्तान हौँ । गुलामी होइनौ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।