एक दिन हाँडीघोप्टे गाउँका मानिसहरू गाउँको एउटा अति नै संवेदनशील समस्यामाथि छलफल गर्न वडा कार्यालय अगाडिको चउरमा भेला भए । वडा अध्यक्षको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा बाँदरको आतङ्क बारे छलफल गरी त्यस समस्यालाई कसरी समाधान गर्ने भन्ने बारे निर्णय लिनुपर्ने थियो ।
गाउँ वरिपरि घना जङ्गल थियो । बाँदरहरू त्यहीं बास बस्थे । उज्यालो हुने बित्तिकै मौका छोपेर उनीहरू रुखबाट ओर्लन्थे र आ–आफ्नो क्षेत्रमा पाइने फलफूल र बालीनालीतर्फ अगाडि बढ्थे । किसानले लगाएको धान, मकै, गहुँ, जौ, सुन्तला, जुनार लगायत विभिन्न बालीहरू बाँदरले सखाप पार्ने गरेकोले नेपाल सरकारसँग त्यसको क्षतिपूर्तिको माग गर्न उनीहरू वडा कार्यालयमा भेला भएका थिए ।
किसानका विभिन्न गुनासाहरू थिए: स्थानीय गाउँलेहरूले छिमेकी गाउँ गएर काम खोजेर पेट पाल्नुपर्ने समस्या आइपरेको बताए भने कतिपय किसानहरूले बाँदरबाट पीडित भई गाउँ नै छोड्नु पर्ने अवस्था आएको बताए । समूह समूहमा भेला भएर टिन ठटाएर, थाल बजाएर र बन्दुक पड्काएर किसानहरूले लखेट्ने गरे पनि बाँदरहरू अग्ला रुख र पोथ्राहरूमा लुकेर बस्ने र मानिस नभएका बखत रुखबाट ओर्लेर खेत, बारीमा पसी बालीनाली नोक्सान पार्थे ।
किसानहरूले यस समस्या बारे कुरा उठाउँदा वडा अध्यक्षले बजेट अपुग भएको कारण दर्शाई बाँदर व्यवस्थापन वा स्थानान्तरणका लागि बजेट छुट्याउन नसकेको बताए । गाउँबासीलाई बाँदरले पुर्याएको क्षतिका विषयमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले चासो नलिएको गुनासो बाँदर पीडितहरूले गरे । बाँदर पीडित गाउँलेहरूले आफ्नो पुर्खाको चिनोको रूपमा रहेको जग्गा जमिन छाडेर अन्यत्र बसाइ“सराई जानु पर्ने अवस्था आउँदा समेत सरकारले कान ठाडो नपारेको गुनासो गरे । यस्तै अवस्था रहेमा सबै गाउँलेहरूले आफ्नो पुर्खाको थातथलो छोडेर बिदेसिनु पर्ने अवस्था आएको छ भन्ने भनाइ पनि कतिपय गाउँलेहरूले राखे ।
किसानहरूको चर्को छलफल चलिरहेको समयमा एक हुल बाँदरहरूले वडा कार्यालय घेरे । हेर्दा हेर्दै बडो अनौठो कर्कश आवाज निकाल्दै क्रुद्ध भएर ती बाँदरहरू सभास्थलतर्फ अगाडि बढिरहेका थिए । यस्तो अप्रत्याशित अवस्था देखी एकछिन सबैजना सहभागीहरू किंकर्तव्यविमूढ भए । वडा अध्यक्ष लगायत सबै गाउँलेहरूसँग लौरो समेत थिएन, निःशस्त्र थिए । खालि हात गाउँलेहरूले त्यहाँ बाँदरहरू विरुद्ध लड्न सक्ने अवस्था नभएपछि सभास्थलमा भागदौड मच्चियो ।
भागदौडमा कतिपय किसानलाई बाँदरले चिथोरे, कतिपय भुइ“मा लडे र कतिपयले भागेरै ज्यान जोगाए । किसानको सभा बिथोलिए पछि त्यही ठाउँमा बाँदरहरूको बैठक बस्यो । बाँदर नेताहरूले किसानलाई एक्लै खान खोज्ने स्वार्थी सामन्त र दुश्मनको रूपमा व्याख्या गरे । बिहान, बेलुका, दिन र रात नभनी हामीलाई लखेट्ने, दुक्ख दिने, खुट्टा भाँच्ने र मौका परे मारी नै दिने भएकोले सम्पूर्ण किसानहरू हाम्रा शत्रु हुन् भनी उनीहरूले भाषण गरे ।
बाँदरहरू उत्तेजित भई घर घरमा छिर्न थाले । किसानका ससाना झुप्रा भत्काउन थाले, गाउँभित्र पसेर थाँक्राहरूमा चढी मकैका झुत्ता र घोघाहरू मिल्काउन थाले, केटाकेटीहरूलाई लखेट्न थाले, महिलाहरू भागाभाग भए, बुढाबुढीहरु दगुर्न नसकेर भुइँमा ढले, युवाहरूले बाँदरलाई लखेट्न खोजे, तर एकत्रित नभएकाले उनीहरूको केही सीप चलेन ।
किसानहरूको बिल्लिबाठ भयो । गाउँमा आतङ्ककारी घटनाहरू बढ्दै गएकाले असुरक्षा भएको हुँदा उनीहरूको गाउँमा बस्न सक्ने अवस्था रहेन । त्यसपछि उनीहरूले गाउँ छोडी ज्यान जोगाउने उपाय रोज्न थाले । कोही युवाहरू बिदेसिए, कोही छिमेकी गाउँ र शहरतिर पलायन भए भने कोही चाहिँ तराईतर्फ बसाइँ सरे । यसरी गाउँ रित्तो भयो ।
मानिसले गाउँ छोडेपछि हुलका हूल बाँदरहरू गाउँभित्र पसी विचरण गर्न थाले । सबैभन्दा बलियो बाँदरले आफूलाई गाउँको राजा घोषणा गर्यो र सबै बाँदरहरूलाई आमसभाको निम्ति निम्तो दियो । गाउँको सबैभन्दा ठूलो चउरमा हजारौँ बाँदरहरू भेला भए । त्यहाँ राजाले आफ्नो उर्दी सुनायो, सबै बाँदरहरूले आफूले उपभोग गर्ने अन्न र फलफूलको दस प्रतिशत हिस्सा राज्यकोषमा दाखिला गरेर मात्र उपभोग गर्न पाउने नियम बन्यो ।
बाँदर राजाले सुती सुती आफ्नो भाग खान पाउने भयो, बाँकी बाँदरहरू गाउँभित्र पसे र नाचगान गर्न थाले । मानवजातिले निर्माण गरेका सबै सिर्जनाहरू ध्वस्त पार्न थाले । घरभित्रका लत्ताकपडा च्यातच्युत पारे, बाँकी सरसामान छरपस्ट पार्दै बाहिरतर्फ फ्याँके, मकैका घारहरू रित्तिए र ढुकुटीमा थन्क्याएका बँचेकुचेका अन्नपात सबै खाए, छरे । गाउँका फलफूलका बोटहरू उजाड भए ।
बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरूलाई पनि बनाउन दिँदैन भने झैँ बाँदरको भिडले भत्काउने मात्र काम गर्यो । खेत र बारीहरू बाँझा भए । जताततै भत्केका घर र गोठहरूको भग्नावशेष, झार, रुख र बिरुवाहरू मात्र देखिन थाले । अर्काको पसिनाको कमाइ खाएर बाँचेका बाँदरहरू खान नपाएर दुब्लाउन थाले । केही समयपछि बाँदरहरू गाउँबाट पलायन हुन थाले । बाँदर राजासँग चाहिँ“ केही अन्नपात मौज्दात भएकोले उ रमिता हेरेर आफ्ना नोकर चाकर सहित रमाएर बसिरह्यो । सबै बाँदरहरूले गाउँ छाडी सकेकाले केही दिनमै राजासँगको अन्नपातको मौज्दात पनि रित्तियो ।
केही महिनापछि पलायन भएका गाउँका युवकहरू गाउँको हालत कस्तो भयो होला भनी हातहतियार सहित आफ्नो सुरक्षाका सामग्री बोकी गाउँतर्फ प्रस्थान गरे । गाउँ बाहिरैबाट चियो गर्दै सावधानीपूर्वक उनीहरू गाउँ प्रवेश गरे । गाउँ सुनसान थियो । उनीहरू अगाडि बढ्दै गए, गाउँ सबै उजाड थियो, न मानिस थिए न त बाँदर ।
उनीहरू गाउँकै सबैभन्दा ठूलो घरतर्फ अघि बढ्दै गए । त्यहाँ पाँच सातवटा दुब्ला बिमारी जस्ता बाँदरहरू देखिए । मान्छे देख्ने बित्तिकै ती भाग्न निस्के । युवाहरूले बन्दुक तेर्स्याए पछि ती बाँदरहरू एक ठाउँमा जम्मा भएर हात जोड्दै रुन थाले । उनीहरूले याचना गर्न थाले, “हामीलाई केही नगर, हामी गाउँ छोड्न तयार छौं । हामीलाई एकपटक माफी देऊ । अब उप्रान्त हामी जङ्गलभित्रै बस्छौं । गाउँ पस्दैनौँ । कथंकदाचित् हामीले किसानको बालीनाली नोक्सान गर्यौँं भने हामीलाई दण्डित गर्नुहोस्, हामी सहन्छौं । सरकारी बजेट पाएपछि गाउँलेहरूले हाम्रो वंश नै समाप्त गरिदिने हुन् कि भन्ने पीरले हामीले गाउँमा आक्रमण गरेका थियौँ । अब हाम्रो चेत खुल्यो, हामीलाई पनि न्याय गर्नुहोस् ।”
बाँदरहरूको यस्तो याचनापछि युवाहरूले तिनलाई त्यत्तिकै माफी गर्नु उचित नहुने ठहर गरी जिल्ला प्रमुख अधिकारी, सरकारी वकिल, पशुअधिकारकर्मी र बाँदर नेताहरू समेतको रोहबरमा महत्त्वपूर्ण सम्झौता गरी केही नियमहरू पास गराए । सम्झौताअनुसार पशु विरुद्धको कारबाहीमा बाँदरलाई बोरामा हालेर पिट्ने, खुट्टा भाँची दिने, आँखा फुटाइदिने जस्ता आपराधिक कारबाही गर्न नपाइने, तर ढोल, ढ्याङ्ग्रो, टिन जस्ता सामग्री बजाएर अथवा टाढाबाट बन्दुक, पटका पड्काएर बाँदरलाई तर्साउन सकिने भयो, तर बाँदरको ज्यानै लिने गरी कारबाही गर्न भने नपाउने व्यवस्था भयो ।
तदनुप्रान्त बाँदरहरूले जङ्गलबाट निस्की बालीनाली नष्ट पारे त्यसलाई सामान्य सजाय गर्ने अधिकार गाउँलेहरूले पुनः पाए । सरोकारवालाहरू सबैको रोहबरमा पास भएको त्यस सम्झौता अनुसार राज्यद्वारा संरक्षित वन जङ्गलमा बस्ने जनावरहरूले मानव बस्तीमा कुनै हानी नोक्सानी पुर्याए सरकारले त्यसको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने तर अरू वनजंगलमा बस्ने जानवरहरूबाट हुने यस्तो दुर्घटनाको कारणले कुनै नोक्सानी हुन गएमा त्यस्तो नोक्सानीको शतप्रतिशत क्षतिपूर्ति माग्नु भनेको किसानहरूको गैरजिम्मेवार प्रवृत्ति हो । सरकार मागी खाने भाँडो हो भने जस्तो सरकारसँग जुनसुकै नोक्सानीको क्षतिपूर्ति माग्ने प्रवृत्ति उचित होइन । यस्तो माग गर्नु अघि किसान जिम्मेवार हुनै पर्छ ।
बाँदरलाई दण्डित गर्ने अधिकार बाँदरबाट नै मानिसलाई प्रदत्त न्यायिक अधिकार भएको हुँदा गाउँलेहरूले बाँदर तर्साएर लखेट्न अब उप्रान्त सीमित सरकारी बजेट उपयोग गर्न पाउने कानुनी अधिकार प्राप्त गरे । त्यसपछि ती बाँदरहरू पनि जङ्गल पसे । युवाहरू फर्केर पलायन भएका गाउँलेहरूलाई बाँदरको यस्तो सन्देश दिए पछि उनीहरू पुनः आफ्नो गाउँ फर्के र गाउँमा पुनरुत्थान गर्न थाले ।
प्राकृतिक न्यायको सिद्धान्तका आधारमा मानिसले पनि आ–आफ्नो सुरक्षाको निम्ति आवश्यक व्यवस्था गरी जङ्गली बाँदरहरुसँग निषेधको राजनीति नगरी सहअस्तित्व कायम गरी बस्नुपर्ने भयो ।
स्वभावैले बाँदरले आफ्नो घर नबनाउने, तर लुकिछिपी मानिसले बनाएको संरचना भत्काउने र अन्नबाली चोर्ने हुँदा बाँदरसँगको यस्तो अस्वाभाविक सम्झौतालाई बाँदर सम्झौता भनिएको हो । यस्तो सम्झौता बारे प्रधानमन्त्रीका प्रवक्तासँग बुझ्दा तिनले भने, “कतिपय मानिसहरू आफू परिश्रम नगर्ने अल्छी हुन्छन्, तर परिश्रमी र इमानदार मानिसको कमाइबाट ती बाँचेका हुन्छन् । आफू परिश्रम नगरी अरूको हानी नोक्सानी पुर्याउने खराब नियतका मानिससँगको सम्झौता पनि व्यवहारमा लागु हुन नसक्ता त्यस्तो सम्झौतालाईलाई समेत बाँदर सम्झौता भन्न सकिन्छ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।