काठमाडौंको महँगो होटेलमा आयोजना गरिएको कवि गोष्ठीमा मैले पनि सहभागिता जनाएँ । कार्यक्रम शुरू भयो । आसन ग्रहणको सिलसिलामा उद्घोषकले मेरो नाम पनि उद्घोष गरे । शुरूमा त मेरो जस्तो नाम भएको कोही होला भनेर मैले वास्ता गरिनँ । उनले मलाई नै औंल्याउँदै अगाडिको मञ्चमा राखिएको सोफामा बस्न आग्रह गरे । म लाजले पानीपानी भएँ ।
कार्यक्रमको समापनको सन्दर्भमा मलाई पनि मायाको चिनो हस्तान्तरण गरियो । म झनै रनभुल्लमा परें । जब भोजनको लागि सबै जना गए तब मैले आयोजकलाई खुसुक्क भनें, “मलाई त कार्यक्रममा बोलाइएकै थिएन तर यहाँ कवि गोष्ठी चलिरहेको छ भन्ने थाहा पाएर मैले आफूलाई थाम्नै सकिनँ । तपाईंहरूले अप्रत्याशित रूपमा मलाई यति ठूलो सम्मान दिनु कुनै व्यङ्ग्यको झटारो त होइन ? मलाई त बडो अप्ठ्यारो पो लागिरहेको छ ।”
उनले बडो शालीन शैलीमा उत्तर दिए, “यसमा अप्ठ्यारो मान्नुपर्ने कुरै छैन । जो नबोलाईकन पनि हाम्रो कार्यक्रमको महत्त्व बुझेर कार्यक्रमको शोभा बढाउन उपस्थित हुन्छ, त्यो हाम्रो लागि विशेष अतिथि हुन्छ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 









