“मन्त्री ज्यु, उपचारको लागि सहयोग गर्नु पर्‍यो!” दुई हात जोडेर नमस्कार गर्दै रैती प्रसादले झुकेर बिन्ती गरे।
विपन्न नागरिकलाई उपचारको लागि सरकारले सहयोग गर्छ रे भन्ने सुनेर केही सहयोग हुन्छ कि भन्ने आस लिएर उनी गाउँकै मास्टरलाई साथै लिएर मन्त्रीलाई भेट्न गएका थिए।

“तपाईं को हो?” मन्त्रिले सोधे।

“रैती प्रसाद”।

तपाईंको वरीयता क्रम के हो?

थाहा छैन। के हो त्यो भनेको?

तपाईं राष्ट्रपति हो?

होइन।

प्रधानमन्त्री अथवा मन्त्री हो?

होइन।

सभामुख या सभासद् केही हो?

होइन।

कुनै दलको शीर्ष नेता हो?

होइन।

कुनै दलको नेता या कार्यकर्ता?

त्यो पनि होइन।

कुनै दलको सदस्य?

त्यो पनि होइन।

तपाईं कर्मचारी हो?

होइन।

व्यापारी हो ? पार्टीलाई सहयोग गर्नुभएको छ?

होइन हजुर, छैन।

त्यसो भए तपाईं के हो त?

म नागरिक हुँ हजुर!

“उपचारको लागि विदेश लाने नलाने, विदेश लगे कुन देश लाने, देशमै गर्ने भए सहर या गाउँको निजी सरकारी कुन अस्पतालमा गर्ने, कति सहयोग गर्ने, भन्ने कुरा वरीयता क्रमले निर्धारण गर्छ। तपाईं वरीयता  क्रममा पुछारमा पर्नु हुँदो रहेछ। नियम कानुन भन्दा बाहिर गई वरीयता क्रम मिचेर तपाईंलाई सहयोग गर्न हामी असमर्थ छौँ।” मन्त्रीले भने र सँगै उभिएको स्वकीय सचिवलाई अर्हाए “उहाँलाई गाउँकै स्वास्थ्य चौकीमा निःशुल्क उपचार गरिदिनु भनेर पत्र लेखिदिनु”।

पत्र पाएपछि फेरि झुकेर नमस्कार गर्दै रैती प्रसादले भने “मन्त्री ज्यु को जय होस!”