अनन्त कोटी ब्रह्माण्डको बिचमा अनेकन् आकाशगङ्गाहरू एकपछि अर्को गर्दै सन्सनाइरहेका थिए— पारङ्गत  नर्तकीहरूले ताल मिलाएझैँ । सबै आ-आफ्नो अक्षमा तँ छाड म छाड गर्दै घुमिरहेका थिए तर एकले अर्कालाई कत्ति बाधा नदिई ।

आफूलाई अरूभन्दा उम्दो सम्झने एक झिल्को पनि आकाशीय यात्रामा त्यही मार्ग गरेर निस्कियो । त्यस झिल्कोभित्र यसकै कणहरूद्वारा निर्मित एक अचम्मको आकार बन्यो— जसले आफूलाई सजीव, चमकदार, चेतनशील र विवेकशील ठान्ने गर्दथ्यो । त्यो थुप्रो झिल्कोभित्र बसेर अन्य झिल्कालाई नै लात हानिरहेको थियो, हान्ने दाउ खोजिरहेको थियो, दोहन गरिरहेको थियो, पीडा दिइरहेको थियो पलपल, अन्य झिल्काहरू उकुसमुकुस थिए उसका सम्भावित यातनाका भयले । एक प्रकारको कोलाहल मच्चिएको थियो राज्यका नेताहरूमा स्वार्थप्राप्तिका लागि मच्चिएको कोलाहलझैँ अनि विकासको भ्रम छर्दै झिल्कोलाई नै स्वाहा गर्ने यन्त्रहरूको निर्माणमा लागिपरेको थियो ।

त्यो झिल्को पहिलाजस्तो चमकदार थिएन, दुखित थियो । त्यो झिल्को पुनः पहिलाको जस्तै चमकदार र खुसी हुन खोज्दै थियो, आफ्नै विगतपनमा आफूलाई उकाल्न खोजिरहेझैँ लाग्थ्यो । आकाशगङ्गालाई चमकदार र पुलकित बनाउन खोज्दै थियो ।

उसले अन्य चम्किला झिल्काहरूलाई खुसी हुने उपाय सोध्यो । सबै झिल्काहरूले त्यो अचम्मको थुप्रो तिमीमा नै एकाकार भएपछि मात्र खुसी हुन सक्ने बताए । एक दिन त्यो झिल्कोभित्र रहेको थुप्रोले विवेक गुमायो । असङ्ख्य थुप्राहरूलाई विनाश गर्न भनी तयार गरेको यन्त्र प्रयोग गर्‍यो । यसको नाम ती थुप्राहरूले सजिलै स्वाट्ट परमाणु बम भनी राखिदिए ।

यस यन्त्रको धमाकासँगै झिल्कोमा रहेका सबै चिज, स्वभाव,आकार प्रकारका वस्तु झिल्कोमा नै एकाकार भए, एकत्रित भए ।  एउटा अजीवको आकार निर्मित भयो। अणु,परमाणु अझ विज्ञानले अहिलेसम्म पत्ता लगाउन नसकेका असङ्ख्य अपरिमित अनजान सूक्ष्म कणसमेत त्यसमा नै विलय भएर ब्रह्माण्डीय आधारको पुनर्जन्म सुरुवात भयो जो विद्यमानमा छ, विगतमा थियो, भोलि कुन रूपमा विनिर्मित हुने…हो ।