आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो –  “धत् ! बेमान !! यत्रो विलासी घर बनाइस् इमानको जग नै रहेन छ, जा अब कालो मुख लगाएर ।”

उसले बगलीबाट सेतो रुमाल झिकेर आफ्नो मुख छोप्यो र लुरुक्क प्रहरीको भ्यान भित्र पस्यो । भ्यानको कालो सिसामा हेर्‍यो । अनुहारमा कालो पोतिएको देख्यो ।

उसको अन्तर मनले भन्यो – “धिक्कार ! तेरो बुद्धि, यत्रो अकुत थुप्रो लागेकै थियो । लोभले जात फालिस् ।”

नमिठो  साइरन बजाउँदै भ्यान दौडियो । उसको कानले यति नजिकैबाट यस्तो कर्कश आवाज कहिल्यै सुनेको थिएन । भ्यान एउटा ठुलो गेटभित्र पस्यो र रोकियो चारैतिर सुरक्षाकर्मी तैनाथ थिए । अभिवादनमा कसैको हात उठेनन् । ऊ झसङ्ग झस्कियो । टाउको निहुराउँदै ओर्लियो । भुईँको खुट्टाले टाउको तर्फ हेर्दै भन्यो – “खै रातो कार्पेट ? –  थुक्क ! तेरो स्वाभिमान !!”

सुरक्षाकर्मीहरूले पाखुरा समातेर भित्र लगे, कुर्सीमा राखेर केरकार गर्दै भने, ‘ल अब सबै कालो ओकल्नुस् ।’

ऊ भएभरको कालो ओकल्दै थियो । घाटीमा केही अड्केको  महसुस गर्‍यो । पेटले भन्यो –

“हैट ! यस्तो  नपच्ने गरी के घिचेको घाटी हेर्नु पर्दैन ?”

अनुसन्धान अधिकारी झोला थापिरहेका थिए । ऊ कालो ओकली रहेको थियो । अकस्मात् अधिकृतको मोबाइलमा घण्टी बज्यो ।

उताबाट निर्देशनको कडा आवाज आयो, “सम्मानित ठाउँबाट सम्माननीयको आदेश बमोजिम माननीयज्यूलाई सम्मानपूर्वक सेतो कारमा रातो माला लगाएर मूल ढोकामा छोडेर आउनू ।”