सबै ग्राहकहरूले पाँच/पाँच सय तिरेर लिने गरेको पातलो खालको त्यो ज्याकेटलाई “४ सय ५० मा दिनु न है, यसको भित्रपट्टि राम्ररी फिनिसिङ भएको पनि रहेनछ” भन्दै एक जना अधबैँसे ग्राहकले निकै बेरसम्म किचकिच गरेको सुनेपछि मलाई अलि असह्य भयो ।

हाम्रो पसलमा पातला ज्याकेट सेलमा राखेर बेच्ने जिम्मा मैले कान्छी बहिनी निरुलाई दिएको थिएँ । त्यो ग्राहकले मोलतोल गरेदेखि एता मैले दुइटा पाइन्ट र एकजोर जुत्ता पनि बेचिसकेँ । तर ऊ अझै किचकिच गरेको गर्यै थियो ।

‘भैगो, नकिन्ने हो भने अन्तै जानोस्’ निरुले भनिन् । तर पनि ऊ ४ सय ५० मा नै जिद्दी गरिरह्यो । त्यही ज्याकेटमा गढेको थियाे ऊ ।

मैले नयाँ चाल चल्ने विचार गरेँ ।

मेरो काउन्टरमा भिड कम हुनासाथ त्यहाँ पुगेँ । ग्राहकले  रटान छाडेकै थिएन र भन्यो, “साहुजी, प्लिज ४ सय ५० मा मान्नोस् न है ।”

मैले उसको शिरदेखि पाउसम्म हेरेँ । उसको घडी र मोबाइलबाटै हैसियत जाँचेँ । उसले ४ सय ५० होइन, त्यसको दोब्बर  तिर्न सक्छ भन्ने अडकल गरेर बोलेँ, “होइन हजुर, यो पिस त अर्को प्याकेटबाट पो मिसिएछ, यसलाई त हजारभन्दा कम मूल्यमा दिनै मिल्दैन, बरु तपाईंलाई ९ सय ५० सम्म गर्न मिल्छ भन्दै मैले त्यसलाई पट्याएर थन्क्याएझैँ गरी अलि पर सारेँ । ग्राहक ट्वाँ पर्यो ।

अघि नै ५ सय तिरेर लगेको भए हुने रहेछ, भन्ने उसलाई लाग्यो । मैले उसलाई वास्ता नगरेझैँ गर्न थालेँ ।

उसले फेरि अनुरोध गर्‍यो । मैले ‘९ सय ५०’ भनेँ । अरू ग्राहक छिर्दै थिए । उसले चुपचाप ९ सय निकाल्यो ।

मैले “अझ ५० थप्नू न” भन्दै अघि पर सारेको त्यही ४ सय ५० वाला ज्याकेट प्याकिङ गरिदिएँ । उसले आफूसँग ९ सय मात्रै छ भन्दै अलि पेल्न खोजेझैँ गरेर मेरो हातमा थमायो । मैले नमानेजस्तो गरेँ । ऊ हाँस्दै पोको बोकेर गयो ।

म गद्गद हुँदै “फेरि फेरि पनि आउनू है दाजु” भन्दै अर्को काउन्टरमा गएँ ।

निरु हेर्याहेर्यै भइन् ।