अमरको गोठमा झन्डै दर्जनको हाराहारीमा दुहुना गाई र भैँसी थिए। अमरले आफ्नो क्षमताले भ्याएसम्मको स्याहार सुसार गरेर पालेको थियो गाई भैँसीहरू।
अमर बिरामी परेर थलिएको पनि हप्ता दिन भइसक्यो। अमर बिरामी परेपछि भने गोठको काम अमर कि जहान फूलमयाले गर्न थालेकी छन्। फुलमायालाई भ्याई नभ्याई छ। घरको काम गोठको काम बिरामी पतिको स्याहारसुसार गर्नु पर्दा गाई भैँसीलाई बेलामा घाँस परार कुँडोको थिति मिल्न सकेको थिएन।
दिनप्रतिदिन दुहुना गाई भैँसीले दूध कम दिन थालेघर, गोठ र बिरामी पतिको स्याहार गर्दागर्दै आजित भएकी फूलमाया झिँजिँदै अमरमाथि खनिन पुगिन्, “मैले मात्रै कति सक्नु गाई,भैँसी घरधन्दा अनि बिरामी लोग्नेको स्याहार गर्दा गर्दा म त आजित भएँ। भोलिको दिन औँसी हो । आजै हिँडेँ माइततिर” यसो भन्दै फूलमाया माइत तिर लागिन। अमर निरीह भएर हेरि मात्र रह्यो।
फूलमया माइत हिँडेपछि सकी नसकी अमरले त्यो दिनको गर्जो टार्यो। रातभरमा अमरको स्वास्थ्यमा झन् खराबी आयो।
भोलिपल्ट बिहान भयो। सकी नसकी घाँस पराल दिन गोठमा मात्रै के गएको थियो उसलाई देख्ने बित्तिकै सिँगारे गाई र काली भैँसीले सुँड फुलाएर दाम्लो छिनाएर हान्ने हुन्ने गरिहाले। अमर भने कुँडो राख्ने डुँडमा उछिट्टिएर अचेत भएर लड्यो।
दाम्लो छिनाएका गाई र काली भैँसी भने बुर्कुसी मार्दै उफ्रँदै गोठ छेउको आग्लो कान्लाबाट उँधोतिर फाल हाने।
मालिकको दासताबाट किलोको दाम्लोबाट र जिन्दगीबाट नै मुक्त भए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









