भयङ्कर आवाजसँगै धुवाँको मुस्लो मडारियो ।

निमेष भरमै सयौँको मृत्यु भयो । हजारौँ घाइते भए ।

प्रतिकारमा फेरि त्यस्तै बमगोला पड्किए । हताहतीको संख्या गनी नसक्नु भयो । भवनहरू भत्किए ।सडक भासिए । बिजुलीका पोल ढले ।सबै अस्तव्यस्त भयो ।

सर्वसाधारण जन अवाक् भए ।केही सोच्नै सकेनन् । एक्कासि भयो, अकल्पनीय भयो ।

जमिनमा रगतको आहाल बन्यो । सबैतिर कोलाहल मच्चियो, आर्तनाद गुञ्जियो । कसैको हात थिएन, कसैको खुट्टा थिएन । अङ्गप्रत्यङ्ग क्षत विक्षत थिए ।सहयोग गर्ने, उद्धार गर्ने कोही थिएन ।

जताततै मसानघाट जस्तो भयो ।

दुवै पक्ष प्रतिशोधको ज्वालामा दन्किएका थिए ।

राष्ट्रियताको रटान लगाउँदै थिए । देशभक्तिको डिङ हाँक्दै थिए ।

उनीहरूका सहयोगी पक्षराष्ट्रहरूले दुवै पक्षलाई उक्साइरहेका थिए ।मिसाइल,क्षेप्यास्त्र, अत्याधुनिक हतियारहरू सहयोग गरिरहेका थिए । आगोमा घ्यू थपिरहेका थिए ।

सडकमा मिल्किएका अनाथ, घाइते बालबालिकाहरू न राष्ट्रियता बुझ्थे न देशभक्ति नै ।हरदम त्राहिमाम् थिए । विक्षिप्त थिए ।

युद्ध महिनौं चल्यो । दुवै पक्षमा अनिकाल, भोकमरी, अनाथ, घाइतेहरूको स्थिति भयावह थियो । थुप्रै जनधनको क्षति भयो ।

महिनौं पछि शासकहरूको के स्वार्थ मिल्यो कुन्नि ?

ह्विस्कीका प्याला ठोक्काउँदै शान्ति सम्झौतामा हस्ताक्षर गरे । अनि एकै स्वरमा बोले “चियर्स “।