‘चिरु दास’ आन्दोलनमा नराम्ररी घाइते भयो । उसको अति मिल्ने साथी सहिद भयो । हेर्दाहेर्दै आन्दोलनले उचाइ छोयो । सफलताका साथ रोकियो पनि । सहिद परिवारले देशको उन्नति हुने कामना गरे । घाइतेहरूले चाहिँ देशमा अब आमूल परिवर्तन हुने छ भन्ने आशा गरे । उपचारार्थ अस्पतालमा सुतिरहेको ‘चिरु दास’ पनि खुसीले गद्गद भयो ।
सामन्तले छोडेको दरबार सबैका लागि खुला गरियो । यस्तो समाचार सुनेर चिरुको खुसी फेरि छचल्कियो । ऊ बैसाखी टेकेरै भए पनि दरबारको गेटमा पुग्यो । त्यहाँ नेता, पत्रकार र विदेशी कूटनीतिज्ञ पहिले छिरे । पुरानै सत्ताका भए पनि विभिन्न निकायका ठुला पदाधिकारीहरू पनि स-सम्मान भित्र छिरे । त्यसपछि गणतन्त्र ल्याउन सङ्घर्ष गर्ने जनता पनि दरबारभित्र छिर्ने पालो आयो । जनता छिर्ने बेलामा दरबारको गेटमा कडा सुरक्षा जाँच गरियो ।
त्यहाँ ठुलो भिड लाग्यो । भिड अनियन्त्रित थियो । भित्र छिर्न नपाएपछि नाराबाजी भयो । ठेलमठेलको स्थिति आयो । सबै जथाभाबी भाग्न थाले तर चिरु दास भाग्न सकेन । ऊ घोप्टो परेर लड्यो । एक मात्र सहारा बनेको उसको बैसाखीसमेत हरायो । “भिडलाई नियन्त्रणमा लिनू” भनी माथिबाट आदेश आयो । माथिको आदेशबमोजिम नियन्त्रणका नाममा जनतामाथि लाठीचार्ज भयो । एकातिर त्यहाँ खटिएका सुरक्षाकर्मीले दिनभरिको रिस त्यही घोप्टो परेर लडिरहेको चिरुमाथि पोखे भने अर्कातिर ज्यान जोगाउन जथाभाबी भाग्नेहरूले पनि भुइँमा लडिरहेको उही अशक्त घाइते चिरुलाई कुल्चेर आफ्नो ज्यान जोगाए ।
दरबारबाहिरको भिडभाड, भागाभाग अनि लाठीचार्ज एकैछिनमा सम्हालियो । आज जनताले दरबारभित्र प्रवेश पाउने दिन भएकाले यही अवसरमा सहिदलाई सम्झेर मौनधारण गरेपछि घाइतेहरूको सम्मान गर्ने विशेष कार्यक्रम तय गरिएको थियो । तर, बाहिरचाहिँ जनआन्दोलनको घाइते ‘चिरु दास’ सदाका लागि यस संसारबाट बिदा भइसकेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










