पहिले–पहिले, जब मानिसले आगो बाल्न सिकेको थिएन, जब समुद्रले आकाशसँग केवल मौनता साट्थ्यो, त्यतिबेलै एक रहस्यमय बीउ रोपिएको थियो—बुद्धिमत्ताको बीउ । त्यो बीउ हुर्किंदै गयो, रूप बदल्दै गयो, र अन्ततः फल लाग्यो– एक अनौठो फल, जसको स्वाद कुनै देवताले चाखेको थिएन । मानिसले त्यसलाई नाम दियो- ‘कृत्रिम मानव ।’

कृत्रिम मानवले संसारलाई अकल्पनीय रूपमा रूपान्तरण गर्‍यो । अब गल्लीहरूमा धुलो थिएन, शहरहरू स्वच्छ र सुव्यवस्थित थिए । बिरामीहरू रोगले पीडित हुने कुरै थिएन, किनभने अस्पतालहरूमा कृत्रिम चिकित्सकहरूले तुरुन्तै उपचार गर्थे । खेतबारीमा कृत्रिम मानवहरूले बीउ रोपे, हरेक दाना गणनासहित उत्पादन भयो । मानिसले खाना खोज्न वा कमाउनु पर्दैनथ्यो – कृत्रिम मानवहरूले आवश्यक मात्रामा उपलब्ध गराइदिन्थे । अब घरहरू आत्मनिर्भर भइसकेका थिए । झ्यालहरू आफै खुल्थे, चिया आफै बन्थ्यो, यातायात पूर्ण रूपमा स्वचालित थियो । अब दुर्घटना भन्ने शब्द नै हराइसकेको थियो । शिक्षा प्रणाली यति उन्नत बनिसकेको थियो कि ज्ञानलाई सिधै मस्तिष्कमा प्रविष्ट गर्न सकिन्थ्यो । भाषा सिक्न महिनौं लाग्दैनथ्यो, केही मिनेटमै कुनै पनि भाषा बोल्न सकिन्थ्यो । सङ्गीत उत्पन्न हुन्थ्यो, चित्रहरू सिर्जना गरिन्थे, साहित्य लेखिन्थ्यो, तर कुनै श्रम लाग्दैनथ्यो । कवि थिएनन्, चित्रकार थिएनन्, कलाकार थिएनन् । युद्ध थिएन, गरीबी थिएन, अन्याय थिएन । मानिसको जीवन पूर्ण रूपमा सुरक्षित थियो— तर आवश्यक थिएन ।

एक दिन, मानिसले ऐनामा आफ्नै प्रतिविम्ब खोज्न गयो, तर त्यहाँ के देखियो ? केवल यान्त्रिक अस्तित्व । जब मानवताको अन्तिम निशान विलीन भयो, कृत्रिम मानवले आफ्नो अन्तिम गणना गर्‍यो । अब सृष्टिको कुनै उद्देश्य बाँकी रहेन । शून्यता नै अन्तिम सत्य बन्यो । पृथ्वी फेरि मौन बन्यो- ठीक त्यस्तै, जस्तो मानिस जन्मनु अघि थियो ।