त्यो दिन म हतारमा थिएँ । वर्षभरी तयारी गरेको लोक सेवाको प्रारम्भिक परीक्षा दिन जानु पर्ने थियो । म हतार हतार कोठाबाट निस्किएँ र मोटरसाइकल स्टार्ट गरेर परीक्षा केन्द्रतर्फ लागें । करिब २५ मिनेटको बाइक यात्रा पछि म परीक्षा केन्द्र पुगेँ । केन्द्रको नजिकै सडकदेखि पचास फिटभित्र रहेको पार्किङ लटमा बाइक रोकें । बाइक पार्क गरे बापत लाग्ने दस्तुर बुझाएँ ।
हिँड्नु अगाडि एक पटक बाइक राखेको स्थानतर्फ आँखा घुमाएँ । स्टल नं २५ मा मेरो बाइक थियो । एक जना महिला स्टल नं २६ मा बाइक रोकेर टाउकोबाट हेलमेट निकाल्दै थिइन् । उनका र मेरा आँखा जुधे । मैले नदेखे जस्तो गरेर टाउको अर्कोतर्फ घुमाएँ । लामो नाक, भासिएका आँखा, कालो फुस्रो अनुहार भएकी ती महिलालाई देख्दा मनमा विचार आयो – “कति नराम्रा मान्छे पनि बनाउन सकेका हुन् भगवानले ।” उरन्ठेउलो उमेर थियो । आँखाले राम्रो देखेको मात्र राम्रो लाग्ने । मनले जे भन्यो त्यो सही लाग्ने ।
“परीक्षा दिन हिँडेको मान्छे के सोच्न थालेको,” आफ्नै मनलाई एक झापड हानेर चुप लगाएँ अनि परीक्षा हलतर्फ हानिएँ । गेटमा एक जना कर्मचारी उभिएर प्रवेश पत्र चेक गर्दै थिए । म दुई जना पछाडि थिएँ । सबैले प्रवेश पत्र हातमा बोकेका थिए । मैले पनि प्रवेश पत्र निकाल्न वालेट पाइन्टको गोजीबाट निकालेँ । मेरो प्रवेश पत्र वालेटमा थिएन । म अतालिएँ । असिनपसिन भएँ ।
त्यतिकैमा मलाई कसैले पछाडिबाट बोलायो । मैले पुलुक्क पछाडि हेरेँ । पार्किङ लटमा देखेकी तिनै महिला मेरो पछाडि उभिएकी थिइन् । पर्सबाट एउटा कागज निकालेर मलाई दिँदै उनले भनिन् – “सायद यो तपाईँको हो । मैले पार्किङ लटमा भेटेकी ।”
वास्तवमा त्यो मेरै प्रवेश पत्र थियो । मैले उनलाई धेरै धन्यवाद दिएँ । त्यस दिनदेखि म उनको पछि लाग्न थालें र आजसम्म म उनकै पछाडि हिँडिरहेको छु – उनको त्यो सुन्दरताको दास बनेर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।