
उनी झल्याँस्स बिउँझिन् । कोठामा उज्यालो छिरिसकेको थियो । तर उनको मन भने अमिलो थियो, खिन्न थियो। उनी कुनै अप्रिय समाचारको प्रतीक्षामा छटपटाइरहेकी जस्ती देखिन्थिन्। तिता मिठा सम्झनाका छालहरू उनलाई धकेलिरहे, ती पीडाहरू जसलाई नजन्माउने उपायहरू उनको हातमा थिएनन्। लगातार तीन वटी छोरी जन्माउँदाको सामाजिक पीडा अनि श्रीमानको तिता बचन बाणले दिएका पीडा, अनि त्यो अर्को पीडा जसको सम्झनाले उनी आँसुको बाडीमा चुर्लुम्म डुब्न पुगिन् । अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका श्रीमानले उ बेला भनेका वाक्यहरू झलझली उनको मानसपटलमा ताजा भएर आए ” तैँले गर्दा मेरो वंश नास हुने भयो। मेरो जीवन निरर्थक हुने भयो। मर्दा दागबत्ती दिने मान्छे पनि नहुने भयो।”
फोनमा घण्टी बज्यो। उनले कान्छीलाई बोलाइन।
त्यो फोन उनकी माइली छोरीको थियो।
“बैनी, बुबाको प्राण गयो।” भक्कानिएर रुँदै माइली बोलेको आवाज उनको कानसम्म गुन्जियो। त्यति भनेर माइलीको फोन काटियो। आमा छोरी अँगालोमा बाँधिएर अर्धमुर्छितजस्तै भए। केही समयमा पछि आफूलाई सम्हालेर कान्छी उठिन्। आमा अचेत थिइन्।
फोनमा एउटा सन्देश थियो ” बहिनी आमालाई भनिदे, बुबालाई दागबत्ती दिन नपाइने भयो। कोभिड सङ्क्रमण भएका मृतकको लासको दहन सेनाले नै गर्छ रे। भाइ पनि विदेशबाट आउन नपाउने भयो रे। म र ठुली दिदी त्यता आउन गाडी खोजिरहेका छौँ।” कान्छीले सन्देश पढिसक्दा आमाको होस खुलेकै थिएन। उनले आमाको मुखमा थोरै पानी हालिदिइन् । आमाले मुन्टो हल्लाइन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

