उनी ऐना हेरेर गाजल लगाउँदै थिइन् । कोठामा पहिल्यै एक बैँसालु पुरुषले प्रवेश गरिसकेको रहेछ / त्यो देखेर उनलाई असहज भयो र भनिन्, “ओ महाशय कसको अनुमतिमा यहाँ आउनु भो ?”
केटीको कुरा सुनेर केटा बोलेन मात्र हाँसिरह्यो र सुरुक्क बाहिर गयो ।
भोलिपल्ट पनि यही क्रम दोहोरियो ।
पर्सिपल्ट पनि यही क्रम दोहोरिनु राम्रो थिएन ।
केटीले बेलुका आफ्नो श्रीमानलाई यो कुरा भनिन्, “त्यो अपरिचित केटा हजूर दिउँसो नभाको बेलामा मेरो शृङ्गार कोठामै आउँछ । मलाई हेर्छ । मेरो रूपको बयान गर्छ । तर उ भद्र लाग्छ । खै किन किन थाहा छैन ऊ के चाहन्छ ? के गर्नी हजूर ?”
लोग्नेको रिस शान्त भएन । बहस चल्यो र भन्यो, “पक्कै पनि यो तेरो चरित्रको दोष हो । म भोलि अफिस जान्न । रूममै बस्छु । जब त्यो आउँछ अनि तिम्ले त्यसलाई मन पराएको अभिनय गर्नू । सोध्नू । ऊ बेकुफ तिमीबाट आखिर के चाहन्छ ? माया गरे जस्तो गर्नु । अनि हेर्छु म त्यसको चरित्र र झार्छु त्यसका आँखा । थुत्छु त्यस्को जिब्रो ।
भोलिपल्ट –
फेरि त्यही क्रम । केटी ऐना हेरेर कपाल कोर्दै । केटीको प्रशंसा । दुवै मक्ख परे जस्तो । उता कुनामा लोग्ने भाटा लिएर केटोलाई हान्न तयार…
केटा सदाझैं केटीलाई फेरि प्रशंसा गर्न थाल्यो–
“तपाईं कति राम्री, कति भलाद्मी !”
“त्यो त म छँदै छु । तर तपाईंलाई किन चासो म अर्काकी श्रीमतीलाई । आखिर तपाईं के चाहनुहुन्छ मबाट ?”
उता लोग्ने भाटो हान्न तयार…
“हो बैनी म तपाईंबाट केही चाहन्न । बिन्ती लाग्ला तपाईंको लोग्नेलाई भन्दिनू न मेरो श्रीमतीको पछि नलाग्नु भनेर । म त हैरान भैसकें ।”
त्यो सुन्नासाथ पछाडि बसेको लोग्ने लौरो फ्याँकेर टाप कस्छ । श्रीमती हेरेको हेर्यै । त्यसपछि त्यो अपरिचित पुरुष फेरि त्यस घरमा कहिले पनि फर्केर आएन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









