सबै जना परदेसिए पछि गाउँघर सुनसान हुन थालेको थियो । देशमा पनि दिनदिनै गोली चलेका समाचार सुनिन थालेका थिए । गाउँमा बुढाबुढीहर मात्र रहन थालेका थिए । घर बस्न अत्यास लागेर हरिकला तल्लो घरतर्फ लागिन् ।

“समाचार त राम्राराम्रा मात्र सुन्न पाए पनि हुन्थ्यो नि । सधैं खराब मात्र सुन्नु पर्ने ।” उनले टेक्दै आएको लठ्ठी भित्तामा अड्याइन् र आँगनको डिलको सानो पर्खालको छपनीमा बसिन् ।

“आमै ल यो चकटी ओछ्याएर बस्नु ढुङ्गाको चिसो आउँछ ।” भन्दै निर्मलाले एउटा चकटी दिइन् ।

“हेर न कान्छी गोली चलेर मान्छे मरे रे ।” हरिकलाले भनिन् ।

“हँ ! कहिले नि ? बिहान त केही खबर थिएन । ” निर्मलाले डराउँदै सोधिन् ।

“भर्खरै हो रे भन्दै थियो हाम्रो रामेले । ” हरिकलाले भनिन् ।

“कहाँ होला नि ?” निर्मला झनै आत्तिन् ।

“ काठमाडौँ मै हो रे ।” हरिकलाले जवाफ फर्काइन् ।

“ म त अमेरिकामा हो कि भनेर झसङ्ग भएकी, आफ्ना जति सबै उतै छन् ।” निर्मलाले खुइय गर्दै सन्तोषको सास फेरिन् ।