लामालामा सिङ गरेका यमराजले तलदेखि माथिसम्म नियाले अनि सोध्न थाले, “बाबु निकै भलाद्मी देखिन्छस्, किन यति चाँडै यहाँको बाटो रोजिस् त !”
मलाई लाग्यो मान्छे यमराज  र यमराज मान्छे भएर साटिएछन्, अनि मैले भन्न नचाहेको कथा भन्न सुरु गरें : सकी नसकी दुवै नेत्रका ढकनी उघार्दा  अगाडि देख्नै पर्ने मान्छे देखेपछि मन प्रफुल्ल भएर आयो।
कोल्टे परेको शरीर सिधा पार्न आफ्नै शरीरले साथ नदिएको थाहा पाउनु भएछ क्यारे अर्को कोसिस गर्नुअघि भन्नुभयो, “धेरै कष्ट नगर्नुहोला यसरी पनि संवाद गर्न सकिहालिन्छ नि !”
मलाई मेरो आफ्नै स्वर्गीय आमा धर्तीमा ओर्लेर माया ढाडस र सहानुभूति एकैचोटि घोलेर खान दिए जस्तै लाग्यो ।
फेरि मेरो निधारमा हात राख्दै, “कस्तो छ तपाईंलाई अहिले साह्रै पीडा भइरहेको होला दुखिरहेको होला ।”
यतिको high-profile को मान्छेले गरेका यी कुरा मेरो आत्मियताका लागि पर्याप्त थिए ।
भक्कानिएर भन्न थालेँ, “म जसरी पनि बाँच्न चाहन्छु मलाई बचाइदिनुस् ।”
हात जोडेरै भन्न चाहन्थे त्यति नै बेला हातले पनि साथ छोड्यो।
मलाई  सजिलै पढेर उहाँले भन्नुभयो, “हुन्छ म सकेसम्म कोसिस गर्छु ।”
यसो भन्दा उहाँ पनि निकै भावुक देखिनुहुन्थ्यो । एक्कै छिन है भन्दै खै किन बाहिरिनु भयो उहाँ । उहाँसँगको शितल वार्तालापले मनको घाउ निकै शीतल भयो तनको घाउले भने नपोल्न नमानेरै अझ बढी पिरोलिरह्ये जसरी पोल्छ बैंकको ब्याज  र देशका …। त्यतिखेर म अवाक् भएँ जब मैले यहाँको यमराजको आँखा भरिएको पाएँ ।