हामी वीरगञ्जमा छँदा उनी  हाम्रा छिमेकी थिए । यसाे भनाैँ, गाह्रो सारो पर्दा वा मीठो चोखो पाक्दा बोलाइने मध्येकै नजिकका मान्छे भएका थिए।

पिताजीको जागिरमा थियाैँ त्यसैले त्यहाँ हाम्रो जग्गा जमिन वा घडेरी केही थिएन। उनीचाहिँ स्थानीय  जमिनदार नै थिए। उनी साँझ बिहान पिताजीलाई भेट्न आउँथे र पहिलो बोल्ने मौका पाए भने “तपाईंले यहाँ घडेरी किन्न किन ढिला गरेको” भनेर कचकच गरिहाल्थे अनि पिताजीले पहिलो बोल्ने मौका पाउनुभयो भने भागवतको कुनै कथा प्रसङ्ग ल्याई भौतिक सम्पत्ति चाहिने भए पनि यसैको बारेमा ज्यादा चिन्तन राम्रो होइन भन्ने सार निकाल्नुहुन्थ्यो। तर सिधै चाहिँ भन्नुहुन्थेन।

यी त धेरै अघिका कुरा भए। धेरैपछि जब हाम्राे बसाेबास बनारस भयाे, उनी बनारस हाम्राे घर आएका थिए। उमेरले पनि डाँडाे काटेकाे थियाे । उनीसँग एक जना झन्डै आफ्नै उमेरको साथी पनि थिए । यसअघि मैले भेट्दा उनी  प्रायः व्यापारिक र नाफा-नोक्सानको मात्र कुरा गर्थे । यसपटक, त्याे पनि बनासरमा, उनी  धार्मिक भावना लिएर काशी आएको देख्दा मलाई खुसी पनि लाग्यो। मलाई लाग्यो – जोसुकै किन नहोस्, उमेर छिप्पिएपछि मान्छे बिस्तारै वैरागी बन्छ, धार्मिक बन्छ। गङ्गा नुहाउन जाँदा मैले उनलाई मणिकर्णिका घाटको बाटो लिएर गएँ।

त्यहाँ हामी ओर्लंदै गरेको सिँढीको दायाँ पनि र बायाँ पनि दर्जनौँ पोलिँदै गरेका र दर्जनौँ पोलिन पङ्क्तिबद्ध भई बसेका विभिन्न उमेरका लासहरू थिए। खरानी, धुवाँ र दुर्गन्धको बीभत्स साम्राज्य थियो त्यहाँ। त्यस दृश्यले उनको मनमा वैराग्यको भावना बलियो बन्ला भन्ने मेरो उद्देश्य थियो। पिताजीको भागवत र अर्ती उपदेशले दिन नसकेको बोध यहाँको दृश्यले दिनेछ भन्ने मेरो विश्वासले म उनलाई त्यो बाटो हिँडाउँदै थिएँ । मलाई सधैँ लाग्थ्यो पनि, मणिकर्णिका घाट मानिसलाई जीवनको क्षणिकताको बोध गराउने र वैराग्य सिकाउने ठाउँ हो।

तर त्यहाँ अलि अगाडि हिँड्दै गरेका उनले हामीलाई तानेर पछाडि फर्काए र त्यहाँ  डिपोमा व्यवस्थित ढङ्गले चाङ लगाएर राखिएका लास जलाउने दाउराको पहाड देखाए।

उनले मलाई भने, “हेर बाबु, यो दाउरा त साह्रै राम्रो लाग्यो मलाई, हाम्रो पशुपति आर्यघाटमा यस्तो दाउराको राम्रो व्यवस्था छैन। यसको व्यापार गर्न सक्ने हो भने पैसा त कति कमाइन्छ कति, तिमीहरूको बुद्धि नै छैन, बनारस बसेर के गर्नु, पढेर मात्र के गर्नु ? हेर त दाउरा, आहा !”