-“होस् त्यो कुसुमलाई त नबोलाऔँ हाम्रो यो पार्टीमा बोरिङ हुन्छ।” कलाले अस्वीकार गरी।

-“के भो र ? कुसुम पनि मिजासिली छे, यसो उसो पनि सघाउँछे। ऊ पनि हाम्रै साथी हो।” रुपाले प्रश्न गरी।

-“हैन हुन्न, हामी यति दश जना ठिक्क छौँ। किन कुसुमलाई बोलाउनु ?” फेरि अस्मिताले पनि कलाको कुरामा सहमति जनाई।

कुसुमलाई यो पार्टीमा सहभागी नगराउने कुराले रुपा तिन छक्क परी। आखिर किन?के कारण होला ?कुसुमलाई बोलाउनलाई यिनीहरू विमति जनाउँदै छन्। उसले पनि हरेक कार्यक्रम,पार्टीमा उत्तिकै पैसा तिरेकी छ। हर कुरामा सहमति जनाएकी नै छ।

पार्टीमा सब भेला भए। खानापिना, म्युजिक सब तयार भएर कोही पिउन थाले। कोही नाच्न थाले। रमाइलो वातावरण सुरु भयो। कोही मिलेर गीतहरूमा  टिकटक बनाउन थाले। मानौँ त्यो माहौल कुनै एक फिल्मको सुटिङ झैँ लाग्थ्यो। तर रुपालाई भने कुसुम छुट्दा खल्लो भयो। ऊ निरस देखिई। उसको निरसता देखेर मालाले सोधी। -“के भो रुपा ? तिमी आज यस्तो रमाइलो वातावरणमा पनि निरस देखिन्छ्यौ नि ? सन्चो छैन कि ?”

रुपाले निन्याउरो मुख लाउँदै भनी। -“सधैँ हामी कोही नछुटिने आज कुसुम छुटिई त्यसैले मलाई त नमिठो लाग्यो। आजको हाम्रो भेटघाट पार्टी। ”

-“त्यै कारणले तिमी अँध्यारी देखिएकी ? छि:त्यति जाबो कुराले पनि आफ्नो रमाइलो क्षण खलबल्याउने हो ?लाटी ! ऊ एउटी छुटेर के भो र ? हामी सबै छौँ। आऊ सबै टिकटक बनाउँदै छन् तिमी छुट्लाऊ। “मालाले रूपालाई तान्दै भनी।

-“होस् आज म ननाच्ने, मुढ छैन” रुपाले भनी।

-“अब अर्को पालिदेखि तिमी पनि छुट्ने भयौ हाम्रो समूहमा। कुसुम छुटेकी कारण पनि टिकटकमा नाच्न नजानेर हो। साथी समयअनुसार चल्नु पर्छ। आजकलको जमाना नै टिकटकको छ। टिकटक बनाउन, नाच्न नजान्नेको खैरियत छैन।”

मालाको कुराले रुपा अकमक्क परी र सोच्न थाली।” कुसुमलाई हटाइनुको कारण यही हो ? हे भगवान् ! यो दुनियाँमा अँटाउन पनि अब नौटङ्की गर्न जान्नु पर्ने भो।”