सन् १९९० को वर्षायाम । असमको सुदूर क्षितिजमा, झरीमा निथ्रुक्क भिजेको जङ्गलमा ओभानाको खोजीमा जङ्गली जनावरहरू अग्ला भूभागमा सघन थिए । त्यही जङ्गलको बाटोमा दश वर्ष दूध बोकेको स्याने कैयौँपटक बाघभालुको आक्रमणबाट जोगिन सफल भए पनि हरेक वर्षा बाघमारे भिरमा चिप्लिएर लड्छ । हिजो पनि ऊ त्यहीँबाट लड्यो र सबै दूध घोप्टियो । हिलाम्मे भएको कपडा तलको खोलामा चोबलेर हेर्न हुने भएपछि रित्ता टिन हल्लाउँदै ऊ पाइकरी धिदरामको घरमा गयो ।
“आज पनि रित्ता टिन हल्लाउँदै आयौ तिमी ?” धिदरामको विस्मयमिश्रित प्रश्न ।
“त्यही बाघमारे भिरमा चिप्लिएर लडियो ….. दूध रस्ताभरि भयो ।” ग्लानिभावमा स्याने बोल्यो ।
“अब होटेलवालालाई के जवाफ दिने हो ! हाम्रा कस्टमर बालबच्चावाला पनि छन्; बच्चाहरू भोकै रहने भए, तिनीहरूलाई के भन्ने हो ! तिमी हरेक साल त्यही बाघमारे भिरमा चिप्लिएर लड्छौ तर कहिल्यै चेत्दैनौ । थोरै फेरो भए पनि पुरानो रस्तामा हिँड भन्छु, कहिल्यै मान्दैनौ । एकचोटि खाल्डोमा परेको गाईभैँसी त त्यो रस्ता हिँड्दैन भने तिमी त मान्छे हौ यार ! किन बाघमारे भिरको रस्तामा हिँड्छौ ?” धिदरामले आक्रोश वमन गर्दै भने ।
“पुरानो रस्तामा झरीको बेला बाघभालुको डर हुन्छ र धेरै टाइम पनि लाग्छ । त्यही भएर बाघमारे भिरको रस्ताबाट हिँडेको हो ?” स्यानेले रक्षात्मक तवरले तर्क गर्यो ।
“हेर, मैले पनि दश वर्ष अर्काको दूध बोकेको हुँ । ज्यादै इमानदार भएर काम गरेँ । एक लिटर दूध पनि हेरफेर गरिनँ । एकपालि बर्खामा तिमीजस्तै लडेर दुई टिन दूध रस्ताभरि पोखियो । पाइकरीले बेस्सरी झपार्यो । त्यतिमात्र नभएर त्यसले दूधको पैसा मेरो वेतनबाट काट्यो । त्यो अनुभवले मलाई एउटा आत्मबोध भयो र मैले अर्काको दूध बोक्न छोडेर आफ्नै कारोबार सुरु गरेँ । त्यसैले स्याने, अनुभवबिनाको ज्ञान र आत्मबोधबिनाको अनुभव काम लाग्दैन ।” धिदरामले स्यानेलाई सम्झाउँदै भने ।
त्यो दिन अरू केही नबोली स्याने हिँड्यो । धिदराम बजारतिर लागे ।
भोलिपल्ट एकाबिहानै स्याने आयो र सदाझैँ भारटिन मिलाउनतिर नलागेर धिदरामलाई आफ्नो निर्णय सुनायो ।
“मैले निर्णय गरेँ, आजबाट म तपाईँको दूध बोक्तिनँ । आफ्नो कारोबार आफैँ समाल्नुस् ।”
पोखरा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।