“हैन् हौ मेडम ! अब त थप्ने बेला भएन र ?”

“कति एउटै नानी डोर्‍याउँदै हिँडेको ? उमेर घर्किएपछि त झनै गाह्रो पो हुन्छ त ।”

चौपारिमा घाँसका भारी बिसाएर सुस्ताएका महिला हूलबाट लाउरेनी भाउजूले सधैं जस्तो ठट्टा गर्दै बोलिन् ।

उनका कुरा सुनेर उक्त हूल रस मान्दै खितखित्यायो ।

“भन्न त सजिलै रहेछ नि भाउजू, गरी पुर्‍याउन पो मुश्किल ।” मैले पनि ठाडै जवाफ फर्काएँ ।

“त्यसो नभन्नुस् मेडम ! यो ठट्टाको विषय हैन । मैले साँच्चै भनेको ।” भाउजू के के फलाक्दै थिइन् म वास्ता नगरी नानी डोर्‍याउँदै बाटो लागें ।

बुढो टन्टलापुर घाममा जोतिन खाडी पसे । मेरो यो हालत छ । नखाऊँ त त्यत्रो सङ्घर्षले पाएको जागीर, खाऊँ त दिक्कै लाग्ने भै सक्यो । घरमा वृद्धावस्थाका सासूससुरा । आफू यति टाढा यो एक कोठे डेराको जिन्दगी । यही नानी हुर्काउन, पढाउन त यो सास्ती छ । अझ छोरो चाहिने कुरौटेहरूलाई ! सन्तान पनि पाउनै पर्ने । जागीर पनि खानै पर्ने । यो बिरानो ठाउँमा आफै थला परे के पो होला ? यत्रो सङ्घर्षको उपलब्धि के ? यही एक पेट भर्ने ?…

अहो ! डेरामा पुगिसकेछु ।

खाना बनाएँ । नानीलाई खुवाएँ । आफू पनि जुठो मुख गरें । सुतें ।

“न उनले उनको बाआमालाई सेवा गर्न पाए, न मैले । न गाउँ न शहर सबै बुढाबुढीको हालत यस्तै त छ । सन्तान कहाँ कहाँ वृद्धावस्थामा एक्लै । अनि बुढेसकालको सहारा भन्दै म फेरि छोरो जन्माऊँ ? म मेरो स्वार्थको लागि उसलाई कष्ट दिऊँ ? अहँ म जन्माउन्न…।”

“किन चिच्याएको मामु ?”  भन्दै छोरीले गम्लङ्ग अँगालो हाल्दा पो म झसङ्ग भएँ ।

पसिनाले शरीर लछप्पै भिजेको रहेछ । छेउको बट्टाबाट घटघट पानी पिएँ । मन अलि शान्त भयो । लामो सुस्केरा हाल्दै, अँध्यारोलाई नियाल्दै सोचें – दिनैपिच्छे समाजले दिएको यस्तो डरलाग्दो सपनाबाट म कसरी बचूँ ?