“गर्दिनु न सर ।” विकलले विनयपूर्वक आग्रह गर्यो ।

“अब कहाँ हुन्छ, यतिखेर ? तीन बज्न थालिसक्यो, देख्दैनौ ? आज शुक्रबार भन्ने थाहा छैन ?”

कर्मचारी रुखो स्वरमा बम्कियो ।

“टाढाबाट आउँदा आउँदै ढिला भयो । बाटोमा गाडी बिग्रिएर, नभए समयमै आइपुग्थेँ सर ! आज काम नभए त पर्सिसम्म बस्नु पर्छ । प्लिज सर एकैछिन त हो गर्दिनु न ।”, दुर्गम गाउँबाट आउँदाको सास्ती बयान गर्दै दुःख बिसायो विकलले।

“ल छिटो निस्कौँ है, अस्तिको कटेजमा । मुर्गा राम्रै फसेको छ रे । फेरि उसलाई छिटो निस्कनु छ रे…।” कर्मचारी आफ्नै धुनमा मोबाइलमा गफिँदै थियो।

“प्लिज सर एकैछिन त हो।गर्दिनु न ।” विकलले बिन्ती गरिरह्यो ।

“ह्या, कस्तो जिद्दि रहेछ यो भाइ त।हुन्न भनेपछि पनि आफ्नो ढिपी नछोड्ने ? अब आज अफिस टाइम सकियो।पर्सि छिटो आऊ, मुरुमै गर्दिउँला नि त । मलाई ढिलो भै सक्यो ।” भन्दै बाहिरियो कर्मचारी ।

आइतबार दश बजे नै पुग्यो विकल ।

झ्यालमै टाँसिएर उभियो।कार्यालय भित्र सुनसान थियो ।

‘अस्ति त छिट्टै आऊ भन्दै थियो । मोरो ! आज आफै आइपुगेको छैन ।’ मनमनै बोल्यो ऊ ।

घडीमा सवा दश भै सक्यो । विकलको पछाडि लाइन लम्बिँदै गयो तर कार्यकक्षमा कर्मचारी झुल्किएन ।

लाइनमा धक्कमधक्का चल्न थाल्यो । लाइनवालाहरू कर्मचारी प्रति तितो ओकलिरहेका थिए।

यत्तिकैमा कार्यकक्षमा टुप्लुक्कियो कर्मचारी ।

“अस्ति त तीन बज्न नपाउँदै हतार थियो । आज भने साढे दश हुँदा पनि अफिस टाइम भएन ?” विकल जङ्गियो ।