विक्रमको कार्यकक्षमा एउटा रङको ठूलो बट्टा भेटियो । त्यस बट्टामा भएका रङहरू एक आपसमा को ठूलो भन्ने बहस चलिरहेको थियो ।

रातो रङले फुर्तीका साथ भन्यो, “म यहाँको प्रमुख हुँ । मेरो उपस्थिति बिना कसैको प्रेम, क्रान्ति, चाड-उत्सव केहि सम्भव छैन ।”

नीलो रङले मुस्काउँदै भन्यो, “म त सबैको शान्तिको प्रतीक । आकाश र समुद्रले समेत मलाई नै खोजिरहेका छन् ।”

पहेंलो रङले पनि आफ्नो महत्त्व दर्शाउँदै भन्यो, “सूर्यदेखि सुनसम्म मेरै पूजा गर्छन् । खुशी हुन चाहनेले मलाई कसरी बिर्सेलान् र ?”

हरियो रङले यताउति हेर्न अनुरोध गर्दै भन्यो, “म त प्रकृति हुँ । जीवन हुँ । म नभए यो जगतमा कुनै प्राणी रहला र ?”

रङहरूको भनाभन सुनेर बुरुसले चिन्तित हुँदै भन्यो, यदि तिमीहरू यसरी नै लडिरहन्छौ भने मैले कुन रङमा डोबेर चित्र बनाउने ? चित्र त अधूरो हुनेछ ।”

बुरुसको कुरा रङहरूले वास्तै गरेनन् । उनीहरूको झगडा चर्किंदै गयो ।

केही समय यिनीहरूको बहस नियालिरहेका कलाकार विक्रमले बट्टामा सफा पानी मिलाएर हल्लाए । रङहरू बीच एकर्कामा हलचल मच्चियो । अन्तमा, एउटा सुन्दर झलमल्ल इन्द्रेणी बन्यो ।