“बाउ म तिम्रो घरमा बस्दिनँ, मलाई अंश देऊ, ” छोरो ठुलो स्वरमा भन्यो ।

“हामीसँग सम्पति पनि थोरै छ । छुट्टिभिन्न भयो भने हामी गरिब हुन्छौँ सोनाम, ” बाबुले सम्झाए ।

म सरकारी कामको सिलसिलामा उपल्लो डोल्पा भ्रमणका क्रममा थिएँ । झमक्क साँझ परेकोले बास खोज्दै एक घरमा पुगेको थिएँ । घरभित्र  बाबुछोराको चर्काचर्की थियो ।

“मैले मन पराएर स्वास्नी ल्याएको छु । तीन तीन जना दाजुभाइसँग बस्न सक्दिन बाउ ।”

“हाम्रो सत्र पुस्ताले यही गरे । परम्परा धान्नु पर्छ । छुट्टिने कुरा नगर छोरा ।”

“बरु केही पनि नदेऊ म हिँडे । सम्झ तिम्रो जेठो छोरा मर्यो ।”

एक युवतीलाई हातमा समातेर लतार्दै ऊ घरभित्रबाट निस्क्यो ।

हामी घरबाहिर बाबुछोराका यस्तै भनाभन सुनिरहेका थियौँ । ग्याल्जेन बाहिर निस्के र हेरे ।

“ग्याल्जेन काका, म त बास पाइन्छ कि भनेर आएको । के पर्यो बाउछोराको ? किन घर छोड्दैछन् तपाईंका छोरा बुहारी ?” मैले सोधेँ ।

“हाम्रो परम्परा नमानेर हिँडेको नि खुब जान्ने बुझ्ने भैखाको,” उनले रसिला आँखा पारेर भने । मैले उनका छोरातिर हेरेँ ।

“म मेरी स्वास्नीलाई सामुहिक बलात्कार हुन दिन्न सीडिओ सर, ल भन्नुस् त अहिलेको जमानामा बहुपति प्रथा मान्नु पर्छ ? कि हटाउनु पर्छ,” सोनामले भन्यो ।