काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा साहित्यकार कमला प्रसाईँका तीन कृति ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह), ‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) को लोकार्पण गरिएको छ ।
न्युयोर्कस्थित नेपाली भान्छाघरमा आयोजित कार्यक्रममा न्युयोर्कका वाणिज्यदूत प्रेमबहादुर बुढा थापा, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा साहित्य पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, अनेसास केन्द्रका निवर्तमान अध्यक्ष गोवर्धन पूजा, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार वीरेन्द्र हमाल तथा अनेसास पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले संयुक्त रूपमा कृतिहरूको लोकार्पण गर्नुभएको थियो ।
अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष जानुका ओस्ती ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रेमबहादुर बुढा थापा तथा विशेष अतिथि राधेश्याम लेकालीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि थापा, राधेश्याम लेकाली, गोवर्धन पूजा, श्रीओम श्रेष्ठ ‘रोदन’, जीपीके फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, वीरेन्द्र हमाल तथा सन्ध्या पहाडीलगायतले मन्तव्य व्यक्त गर्दै साहित्यकार प्रसाईँको साहित्यिक योगदानको प्रशंसा गर्नुभएको थियो ।
संस्थाका सचिव विष्णुहरि भण्डारीले कृतिकार प्रसाईँको जीवनयात्रा, साहित्यिक योगदान तथा सिर्जनात्मक सक्रियताबारे प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, साहित्यकार किशनसिंह धामी, प्रा. डा. गोविन्द कोइराला तथा निर्देशक किशोर सुब्बाले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रसाईँको सिर्जनात्मक क्षमताको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा न्युयोर्कस्थित तारा–किशन फाउन्डेसनले प्रसाईँलाई दीर्घ लेखन सम्मान प्रदान गरेको थियो । फाउन्डेसनका संस्थापक संरक्षक तारा धामी र किशन धामीले उक्त सम्मान अर्पण गर्नुभएको थियो ।
यसै अवसरमा अनेसास न्युयोर्क च्याप्टरले पनि प्रसाईँलाई सम्मानपत्रसहित सम्मान गरेको थियो । सम्मान ग्रहणपछि कृतिकार कमला प्रसाईँले आफ्ना कृतिहरूमा जीवनका यथार्थ भोगाइ, अनुभूति, सङ्घर्ष र संवेदनालाई कविता, गीत तथा नाटकमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताउनुभयो ।
संस्थाकी उपाध्यक्ष नदिया लिबाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण महासचिव निरू नेउपानेले गर्नुभएको थियो ।
नेपाल र अमेरिकाको राष्ट्रिय गानसँग शुरू भएको कार्यक्रममा अनेसासका पूर्व उपाध्यक्षहरू राम खत्री र राजेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य शकुन ज्ञवाली, साहित्यकारहरू रश्मि भट्ट, पासाङ शेर्पा तथा अनेसास न्युयोर्क च्याप्टरका पूर्व अध्यक्षहरू पूनम काफ्ले, लक्ष्मी श्रेष्ठ, शारदा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।
लोकार्पित तीनै कृति अनेसास नेपालले २०७७ सालमा प्रकाशित गरेको जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 




