मेरो मनको खाली आकाशमा कालो बादलले ढाकिरहन्थ्यो । जति पटक कालो बादलले छोप्थ्यो मन त्यति पटक उग्र-क्रोधित हुन्थ्यो । मुटुको धड्कन पनि तेज हुन्थ्यो । जब घामको उज्यालो मनलाई ढाक्न खोज्थ्यो तब कालो बादलले उज्यालोलाई पन्छाइदिन्थ्यो । यस्तो घटना त्यति बेला हुन्थ्यो जति बेला द्वेष र क्रोधको हावाले हान्थ्यो मनलाई । त्यसपछि उग्र हुन्थ्यो मनको रफ्तार ।
कालो बादल हटाउन धेरै प्रयास गरें – तर असमर्थ भएँ ।
एकदिन हैरान भएर मनको आकाशले बाहिरको आकाशलाई सोध्यो, “तिम्रो शरीरमाथि तैरिरहेको कालो बादल छिट्टै हराएर जान्छ र सेतो बादलले नृत्य गर्न थाल्छ । तर मेरो मनको आकाशभित्र कालो बादलले ढाक्न छाडेन । एकछिन सेतो बादलले मनलाई छोप्न आए पनि कालो बादलले सेतो बादललाई कालै बनाइदिन्छ । म कालो बादलबाट मुक्त हुन चाहेको छु । के उपाय छ ठूलो आकाश ?”
अनन्त सीमाहीन आकाशले भन्यो, “तिम्रो मनको जमीनमा तिमीले नै कालो बिरुवा रोपेकाले नै कालो बादलले ढाकेको हो । जबसम्म त्यो कालो बिरुवालाई उखेलेर फाल्दैनौ तबसम्म तिम्रो मनको आकाशलाई कालो बादलले ढाकिरहन्छ । म त सफा नीलो आकाश, मेरो छातीमा कुनै कालो जरा गाडिएको छैन । त्यसैले कालो बादलले केही समय ढाके पनि जरा गाड्न सक्दैन । सेतो बादल सेना झैं भएर कालो बादललाई हटाइहाल्छन् ।
आकाशको कुरा सुनेर झल्याँस्स भएँ म । हो त नि मभित्र त्यो कालो बिरुवा म आफैले रोपेकी थिएँ । अहिले त्यो कालो बिरुवा जब्बर भएर हुर्केको छ । एकै पटक त म कसरी त्यसलाई उखेलेर फाल्न सक्छु र ?
तर त्यसलाई फाल्नुपर्ने चेतना जाग्यो र अहिले जरैदेखि उखेल्न विभिन्न उपायहरू खोज्न थालें ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










