गाउँको विद्यालय भवनमा ठूलो भीड थियो । पुरस्कार थाप्न विद्यार्थीहरू लाइनमा उभिएका थिए । भीडबाट एकजनाले फुसफुसाउँदै भने, “पुनमले पुरस्कार त पक्कै जित्छिन् ।  उनी  बाठी छन् तर किन त्यस्तो च्यातिएको कपडा लगाएर आएकी ?”

पुनमको नाम घोषणा भयो । सबैले ताली पिटे । उनी मञ्चमा गइन् । मञ्चमा पुगेपछि प्रमुख अतिथिले भने, “तिमीले यत्रो राम्रो निबन्ध लेख्यौ । तर किन राम्रा कपडा लगाइनौ ?”

पुनम केहीबेर चूप लागिन् । उपस्थित सबैको ध्यान उनलाई हेर्नतिर थियो । उनी मुस्कुराइन् र भनिन्, “सर, मेरो कथा नै यी कपडाहरूले बोलेका छन् ।”

त्यो वाक्यले मञ्चमा सन्नाटा छायो । प्रमुख अतिथिले फेरि सोधे, “के तिमी स्पष्ट बोल्न सक्छ्यौ ?”

पुनमले हल्का स्वरमा भनिन्, “म दिनभर घरको काम गरिरहेकी हुन्छु । किताब किन्ने पैसा नभएर पुराना पत्रिकाबाट अक्षर कापीमा उतार्छु । यी च्यातिएका कपडाहरू मेरो सङ्घर्षका साक्षी हुन् । जसले मलाई अक्षरमा जीवन खोज्न सिकायो । म यो पुरस्कार कपडाका लागि होइन, अक्षरका लागि थाप्न आएकी हुँ ।”

त्यस दिन सबैले बुझे – शिक्षा अक्षरबाट शुरू हुन्छ, रहरबाट होइन ।