दिनको बाह्र बजेको थियो । आकाशमा बादलको नामोनिशान थिएन । सिंहदरबारको गेटबाट नारायणहिटी संग्रहालय बीचको बाटोमा देशभरिबाट आउने हूलका हूल मानिसहरू जम्मा हुँदै थिए । ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो।मानिसको विशाल  भीड दिउँसै लालटिन बालेर सडकमा केही वस्तु खोजिरहेको थियो ।

“यस्तो टन्टालापुर घामको उज्यालोमा लालटिन बालेर के खोजिरहेका छौ, यो कस्तो तमासा हो ?” एकजना बटुवाले भीडलाई सोधे !

भीडबाट आवाज आयो, “यो कुनै तमाशा होइन । हामी सदियौंदेखि हाम्रो घरबाट अपहरण भएको अमूल्य वस्तु खोजिरहेका छौं ।”

“त्यो कस्तो वस्तु हो सदियौंदेखि खोज्दा पनि नभेटिने !” अर्को यात्रुको जिज्ञासा थियो ।

“हाम्रा हजुरबुबा हजुरआमाहरूले १ सय ४ वर्ष यसरी नै खोजे, भेट्न सकेनन् । हाम्रा बाबुआमाले ३० वर्ष उसैगरी खोजे उनीहरूले पनि भेट्न सकेनन् । आज हामी साढे तीन दशकदेखि उही सडकमा उसैगरी उही वस्तु खोजिरहेका छौं तर गणतान्त्रिक व्यवस्थाको घना झाडीमा झनै कता हरायो, हरायो ! भेट्नै सकेका छेनौं । हामीले कहिलेसम्म खोज्नुपर्ने हो थाहा छैन ।”

“आखिर तिमीहरूले खोजेको वस्तु चाहिं के हो त !!”

“हामीले खोजेको त्यो महत्त्वपूर्ण वस्तु हो ! सुनको सिंहासन मुनिको अँध्यारोमा हराएको, सुशासन र समृद्धि ।”