पार्टीको राजनीतिक नियुक्ति सिफारिस कमिटीले पार्टी भित्रबाट योग्यतम् पाँच व्यक्तिको नाम सिफारिस गरेछ । यसमा योग्यतामा हिक्मत र अनुभवमा चन्द्रधर अगाडि देखिएछन् ।
‘खोइ, हेमन्तको नाम त देख्दिनँ नि ! हेमन्त मेरो सहोदर सालो मात्र होइन, पार्टीको बफादार सिपाही पनि हो । सिफारिसमा उसकै नाम छुटाएको ? यो सिफारिसमा हेमन्त हुनुपर्यो; हेमन्त सहित पाँच जनाको नाम सिफारिस हुनुपर्यो ।’
‘त्यसो भए सोझै हेमन्तकै नाम मात्र सिफारिस गरे भै हाल्यो नि ।’
‘लोकतान्त्रिक प्रक्रिया त्यस्तो हुँदैन नि । लोकतान्त्रिक प्रक्रियामा सिफारिस कमिटीबाट हामीले नियुक्त गर्न चाहेको व्यक्तिसहित केही व्यक्तिको सिफारिस हुन्छ र नियुक्त आफूले चाहेको व्यक्तिलाई गरिन्छ । यसो गर्दा पार्टीभित्र पनि, पार्टीको विज्ञसमूहमा पनि र संसदमा विपक्षको पनि मुखमा बुजो लाग्छ । कुरा बुझ्नु भो ?’
कुरा बुझेर जिल्ला फर्किनु भएका रश्मी सर चियापसलभित्र पल्लो टेबुलमा राजनीतिक नियुक्तिको लोकतान्त्रिक प्रक्रियाका बारेमा आफ्ना कार्यकर्तालाई सम्झाउँदै हुनुहुन्थ्यो— ‘प्रेसवालाहरू नेताले आफ्नो गोजीको मान्छेलाई लाभको पदमा राजनीतिक नियुक्ति गर्छ भन्ने आरोप लगाउँछन्, भन्न सजिलो छ । लोकतान्त्रिक प्रक्रिया पूरा गर्न हामीले कम्ती माथापच्ची गर्नुपर्छ !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।