“एकजना दुईजना हो र ? सिङ्गो गावैँ सोत्तर हुने भएछ नि !” मोबाइल खल्तीमा राख्दै बोले रामचन्द्र ।

“केले सोत्तर पार्ने भयो ठाइँलाबा ? हावाहुरी आए छ कि कसो ?” छेवैँमा उभिएको भविश्वरले जिज्ञासा राख्यो ।

“केको हावाहुरी ? आफ्नै कुबुद्धिले !” रामचन्द्रले प्रतिकात्मक जवाफ दिए ।

“मैले कुरा बुझिनँ ।” भविश्वर जिल्लियो ।

“धेरै फलाउने, बेच्ने, छिटो कमाउने लोभले सासै फेर्न नसकिने गरी सबैले केके जाति छर्कन्थे । बेच्ने भन्दैमा त्यसरी जथाभाबी विष हाल्न हुन्थ्यो ? उतिबेला यिनै गोबर, बर्कौंलाले मनग्य फलाएर विदेशसम्म निर्यात गरे हाम्रा पुर्खाले ! ऐले पनि हामीले फलाएकै छौं, खाएकै छौं । तिनलाई भने …”

“हजुरका कुरा बुझेको भए मार्दिनु । कहाँ कसले के गरे र सोत्तर हुने भए क्या ठाइँलाबा ? प्रष्ट भन्नु न !” रामचन्द्रका कुरा नटुङ्गिँदै भविश्वर बोल्यो ।

“लोभले लाभ, लाभले विलाप ! त्यैँ क्या त हाम्रा पुसाइँका गाउँ–धुसेनीका कुरा !”

“के भएछ र त्यहाँ ?” भविश्वर सशङ्कित भयो ।

“बेमौसमी खेती गर्ने पौरखी भनेर नाक फुलाएका थिए । एकपछि अर्को बिरामी परेपछि जँचाउँदा थाहा लाग्यो– बालीमा छिटेको विषादीले उनीहरूमा नै क्यान्सर देखियो ।”