“यत्रा मान्छे उत्तीर्ण भएँ; म कसरी अनुत्तीर्ण भएँ मेडम ?”

कान्छोबहादुरको प्रश्नले मेडमको मनस्थिति हल्लाउनसम्म हल्लायो । उनले केही समयका लागि आफ्नो वाणीलाई बसाइ सर्न लगाइन् ।

“यत्रो कम्पनीको तपाईं एक्लो मालिक, हामीलाई वर्षभरि अह्राउने खटाउने पनि तपाईं । मूल्याङ्कन गरी तक्मा भिराउने पनि तपाईं । खाएको नखाएको हेर्ने सम्झने पनि तपाईं । दूधको दूध छुट्याएर राहतको शक्ति सञ्चार गरिरहनुभएकी पनि तपाईं । मबाट के भुल भयो र, तपाईंले मेरो नाम पहिले पनि र अहिले पनि छुटाउनुभयो ?” कान्छोबहादुरले लामै फेहरिस्त बताएर बिसायो ।

अझै मेडमले आफ्नो वाणीलाई फिर्ता बोलाउने नामै लिइनन् ।

“लोभलालच र धाकधम्कीमा फसेर कर्मठ मान्छेको पेटमा लात हान्ने काम गर्नुभयो । उत्तर दिन सामर्थ्य नहुँदा अहिले मुखमा भोटे ताल्चा झुन्ड्याउनुभयो ?” कान्छोबहादुरले पुनः गुनासाकै भारी बिसायो ।

यस पटक भने मेडमले सुस्तरी भनिन्; “प्रमोसनमा सही काम नहुँदा तिमीलाई परेको मार्कामा म स्वयम् दुःखी छु । यद्यपि म पनि आफ्नै अदृश्य चालकबाट नियन्त्रित जीवन भोगिरहेको सत्य चाहिँ नबिर्स है ।”