६५ वर्षे बाउ जहरसिंह र सहरबाट परिवार भेट्न गाउँ आएका ४० वर्षे छोरा बलिराम बाटुले खेत घुमेर घर फर्किँदै छन् । सानो छँदा बाउको पछि-पछि जुवा बोकेर लुखुर-लुखुर खेततिर झरेको याद ताजै छ बलिरामलाई । ६५ वर्षे बुबा फटाफट उकालो हिँडे तापनि ४० वर्षे छोराको हालत नाजुक छ । १५ मिनेटको उकालो छिचोल्न ३ ठाउँ बिसाउनुपर्छ बिचरा बलिरामलाई तर बुबाको फुर्ती अनि तागत देखेर अचम्मित छन् ।

“बुबा मलाई उछिन्नु भो त ! पर्खिनु न सँगै जाऔँ ।”

“मास्तिर वरपीपल चौतारो छ, त्यहीँ बसौँला ।”

“यी बुढासँग नसकिने भो, आना-माना घिउ जमानाका बुढा न परे !”

फोक्सो बाहिरै आउला झैँ गरी स्वाँ-स्वाँ गर्दै बलिराम चौतारो पुग्दा जहरसिंह थकाइ मार्दै एक खिल्ली चुरोट सक्न सानो टुक्रो मात्र बाँकी थियो ।

“यति छिटो-छिटो हिँड्दा गल्नुभएन बुबा ?”

“उकालो-ओरालो हिँड्ने बानी छ, सहरमा झैँ मोटर हुन्न ।”

“तपाईंको श्वास बढ्दैन बुबा ?”

“बुढो उमेर भएर होला ज्यान गलेजस्तो हुन्छ तर सास बढ्दैन ।”

“कुनै रोग छैन बुबा तपाईंलाई ?”

“भोक लाग्ने रोग छ ।” फिस्स हाँस्छन् “थकाइ मराइ धेर भो जानुपर्छ ।” बुबा उठेर बाटो लागिहाल्छन् ।

“एक छिन बसौँ न बुबा !” कसैले फ्याँकेको सिमलको लौरो टेक्दै बाउको पछि लाग्छन् बलिराम पनि ।

“बुबा ! तपाई ६५ वर्षमा नि यस्तो हृष्टपुष्ट-हट्टाकट्टा, न त कुनै रोग व्याध, न कुनै दबाई खानुपर्छ । यसको राज के हो ?”

“मलाई पर्खाउने मेलो गरिस् नि बले ! यसको राज पछि आफैँ थाहा पाउँछस्” बिस्तारै पाइला चाल्दै फलाक्दै छन् ।

“तपाईं अझै जवान देखिनुहुन्छ, आजकलकालाई प्रेसर र सुगर, अनेक थरी रोग व्याधले च्यापिसक्यो, दवाईको भरमा बाँच्नुपर्छ बुबा । उमेर थोरै पुगे पनि रोगले बुढो बनाइसक्छ । तपाईंहरूको पालामा कालले लान्थ्यो आजकल त कालले भन्दा छिटो रोगले लान्छ ।” लामो श्वास तानेर खुईया गर्दै, “बुबा आखिर कसो गर्दा तपाईं जस्तै बन्न सकिन्छ ?”

अस्कोटको गोजीदेखि एउटा हरबल चकलेट निकालेर छोरा बलिरामलाई दिँदै, “हामेरु कामको पछि लाग्थ्यौँ, तिमेरु पैसाको पछि लाग्छौ ।”

“कामले भोक जाग्छ, पैसाले भोक भाग्छ, कुरो तेई हो-बुझे भइगो”

बाटै छेउमा फलेको एक दानो काँचो अम्बक टिपेर हातले पुछेर कड्याम्म टोक्दै उकालिन्छन् जहरसिंह उता छोरा बलिराम भने बाउले दिएको हरबल चकलेट हातैमा लिएर अझै ट्वाल्लिराछन् ।