बैठकमा उपस्थित सबैले आफ्नो बिचार राख्ने क्रममा नेतृत्वको विरोध गरे ।
‘योग्यता र अनुभवको आधारमा भन्दा पनि पहुँचको आधारमा जिम्मेवारी तोक्ने काम भयो’ आक्रोशित हुँदै पहिलो वक्ताले भने ।
‘राम्रो भन्दा हाम्रो मान्छे, जान्ने भन्दा मान्ने मान्छे भर्ती केन्द्र जस्तो भयो’ उस्तै लवजमा दोस्रो वक्ता चर्किए ।
‘लोकतन्त्र, गणतन्त्र भन्दा पनि यो त जहानियाँ तन्त्र भयो, जताततै आफ्ना जहान परिवारका मान्छे मात्रै नियुक्ति गर्ने ?’ तेस्रो वक्ताले जङ्ग बहादुरसँग तुलना गर्दै भद्र शैलीमा विरोध गरे ।
‘जनता सधैँ गरिबी, भोकमरीमा बाँच्ने, आफ्ना मान्छे मात्र पोसिने काम भयो’ चौथो वक्ताको विरोध दर्ज भयो ।
पाँचौ, छैटौं, सातौं वक्ताले पनि सोही प्रकारको असन्तुष्टि दर्शाए । यस्तो पाराले समृद्धि आउँदैन, जनतामा चरम निराशा आउने छ भन्नेमा सबैको एकमत भयो ।
अन्त्यमा नेतृत्वले बोल्ने पालो आयो ।
उनले भन्न थाले ‘तपाईंहरू जसले विरोध गरिरहनु भएको छ, वास्तवमा कुरा नबुझेरै विरोध गरिरहनु भएको छ भन्ने मलाई लागिरा’छ । मलाई लाग्छ तपाईंहरू कहिल्यै हवाई जहाज चढ्नु भएको छैन । जहाज उड्नुअगाडि के भनिन्छ भने यदि बालक, वृद्ध अथवा अशक्त व्यक्तिलाई अक्सिजन मास्क प्रयोग गर्नु पर्यो भने पहिले आफूले लगाउने अनि मात्र उनीहरूलाई लगाइदिने । त्यसको अर्थ के हो भने पहिले आफू सुरक्षित र सक्षम हुने अनि अरूलाई सहयोग गर्ने । हो त्यस्तै हो यो पनि । पहिले म समृद्ध भएँ, त्यसपछि मैले मेरा छोरा बुहारी, छोरी ज्वाइँ, भाइ बहिनी लगायत परिवारका अन्य सदस्यहरूलाई समृद्ध बनाएँ । त्यसपछि उनीहरू सबैले आआफ्नो परिवार, नातेदार सबैलाई समृद्ध बनाउने छन्, त्यसपछि उनीहरूले पनि आफ्नो परिवार, नातेदार सबैलाई समृद्ध बनाउने छन् । अब सबै नेपाली कसै न कसैको परिवार, नातेदार आदि त परिहाल्छन् । त्यसो गर्दागर्दै सबै नेपाली एक एक गर्दै समृद्ध हुनेछन् । यसरी सबैजना दिगो रूपमा समृद्ध हुनेछन् ।’ भनेर उनले आफ्नो वक्तव्य टुङ्गाए ।
समृद्धिको अर्थ बुझे झैँ सबैले मुखामुख गर्न थाले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










