एकटक हेर्दाहेर्दै मूर्तिकार आश्चर्यमा परे । उसले आफ्नै हातले माटो मुछेको थियो । मेहनतले आकार दिएर रङ भरेको थियो । शृङ्गारमा सीप खन्याए पछि साँच्चै मूर्ति जीवन्त बनेको थियो । त्यहीं मूर्ति बोल्दै थियो ।

बोल्दाबोल्दै खित्का छाड्दै भन्यो – “सृष्टिकर्ता ब्रह्माजीबाट प्राप्त वरदान निरर्थक हुनै सक्दैन । म अमर छु ।” मूर्तिकार रनभुल्लमा परे । मूर्तिलाई नजिकैबाट नियाले । उसको भित्रैबाट आवाज आइरहेको थियो । ध्यानपूर्वक सुन्न आँखा चिम्लिए । मनमनै भन्न थाले, “तीनै लोकमा उत्पात मच्चाए पछि दुर्गाले त उहिल्यै बध गरिसकेकी हुन् ।”

मूर्ति फेरि गर्जियो, “इच्छानुसार रूप बदल्न म पनि सिपालु थिएँ । तर दुर्गाले नौ रूप फेरेर मलाई धोकाले हराइन् ।”

गर्वका साथ मूर्ति भन्दै थियो, “असुर भए पनि पशु र महिलामाथि हात नउठाउने भएकैले म मारिए । अहिले फेरि जीवित भएँ ।”

मूर्तिकारले भन्यो, “तिम्रो आयु अब दश दिन मात्र छ । नौ दिनको युद्धपछि तिमी शक्तिकी देवीबाट मारिनेछौ । दशौं दिन दशैंमा विजयोत्सव मनाइनेछ ।”

सत्ययुगमा म एउटै थिएँ र पनि मार्न शस्त्रअस्त्रले सुसज्जित दश हातकी दुर्गा चाहिएको थियो ।”

महिषासुरको मूर्तिले चुनौतिको भाषामा भन्दै थियो “रूप बदल्न खप्पिस म अहिले त ठाउँ–ठाउँमा विभिन्न रूपमा बसेको छु ।”