मधेसी जिल्लाको एउटा ठूलो प्रतिष्ठित अस्पतालको प्रसूति कक्षमा एकजना तराई मूलकी महिला बच्चा जन्माउन पिडामा छटपटाइरहेकी थिई । डक्टर र नर्सहरूले उनलाई घेरिरहेका थिए । बेडमा एक्कासि बच्चा रोएको आवाज सुनियो । कोही आफन्तबाट सुनियो, ‘फेरि छोरी जन्माई यसले !” उसको कुरा सुनेर सुत्केरी महिलाको अनुहार झन् अँध्यारो भयो । पिडाले मुटु निचोरियो । उसले एकपटक पनि नवजात शिशुको अनुहार हेर्न सकिन ।

बच्चाको बाबु ढिलो गरी अस्पताल आइपुगे । अनुहार मलिन थियो । थाहा पाइसकेछ उसले, ‘श्रीमतीले तेस्रो पटक पनि छोरी नै जन्माई !”

भोलिपल्ट, बच्चा र बच्चाकी आमा अस्पतालमै थिए । अस्पताल बाहिर जुलुसजस्तै एउटा ठूलो भिड जम्मा भयो । उनीहरू महिलाका गाउँले थिए । नर्स र डक्टरहरू अचम्म मानेर अस्पतालको भिड समाल्न बाहिर निस्किए ।

डक्टर साहेबले शान्त भएर नाइकेलाई सोधे, ‘तपाईंहरू किन यसरी गाउँ नै उल्टिएर आउनु भएको यहाँ ? उनीहरूको के दोष छ ?’

भिडबाट एकजनाले भन्यो, ‘डाक्टर साब …! डाक्टर साब …! ’ उसले बोल्न नपाउँदै, डाक्टरले सबैलाई शान्त रहन भने, ‘छोरी जन्माउँदैमा उनले तपाईंहरूको के बिगारिन् र ? के उनले अवैध बच्चा जन्मिएकी हो र ..?”

नाइकेले अगाडि सरेर भन्यो, ‘त्यसो होइन डक्टर ! उसले क्यैपनि बिगारेकी छैनन् ! हाम्रो गाउँमा धेरै वर्षदेखि एउटा प्रथा चल्दै आएको छ । गाउँमा जसले छोरी जन्माउँछ । त्यहीँ छोरीको नाममा हामी सबै गाउँले मिलेर एकहजार बिरुवा गाउँको खाली जमिनमा रोप्दै आएका छौँ ! दोस्रो कुरा, गाउँका हरेक घरले कम्तीमा पनि सय रुपियाँ नवजात छोरीको नाममा बैङ्कमा जम्मा गरिदिन्छौ ! त्यसैले आज हामी बिरुवा र खन्ने औजार लिएर आएका छौँ । नवजात छोरी देखाइदिनुहोस् । हाम्रो गाउँकै लक्ष्मीको मुख हेरेर हामी काममा छिट्टै जुट्छौं ।”

गाउँलेको यस्ता कुरा सुनेर डाक्टर र नर्सहरू चकित परे । यही प्रथाले त्यो गाउँमा शान्ति र समृद्धिले बास गरेको थियो । गाउँ हरियाली र हराभरा थियो । त्यस गाउँका सबै छोरीहरू खुसी, सुखी र विद्वान थिए ।

बेलायत