नव विवाहित शहरिया बुहारीले बिहान बिहान कागती खाएको देखेपछि अब छिट्टै हजुरआमा बन्ने भएँ भनेर सासू दङ्ग पर्दै नाति होस् भन्ने मनमनै कामना गरिन् । नातिकै लागि भनेर स्विटर बुन्न थालिन् ।

बुहारीले केही गह्रौं काम गर्न लाग्दा भन्थिन्, ‘तिमी छोड बुहारी, म गर्छु । जाऊ, तिमी आराम गर ।’  काम गर्न नपरेकोमा बुहारी दङ्ग परिन् । किन भनेर सोध्न जरुरी ठानिनन् ।

यस्तै गर्दा गर्दा केही महिना बिते । महिना अनुसार गर्भवती महिलामा देखिन पर्ने लक्षणहरू देखिएनन् ।

‘कतै केही त भएन ? अहिलेसम्म त पेट अलि ठूलो हुनु पर्ने !’ मनमनै सोच्दै बुहारीलाई सोधिन्, ‘तिमीलाई ठिक त छ नि ?’

सासूको अचानक सोधाइले अचम्म मान्दै बुहारीले भनिन्, ‘म ठिकै छु, केही भएको छैन । किन सोध्नु भयो र आमा ?’

‘तिमीले बिहान बिहान कागती खाएको देखेकी थिएँ । मलाई लाग्यो तिमी गर्भवती छ्यौ । तर आजसम्म पनि तिम्रो पेट बढेको देख्दिनँ । त्यही भएर गर्भलाई केही भयो कि भनेर सोधेकी,’ सासूले कुरा खुलाइन् ।

बुहारी एकैछिन मज्जाले हाँसिन् अनि भनिन्, ‘त्यो कागती त मैले बेलुका पार्टीमा खाएको ह्विस्कीको ह्याङ् ओभर जाला भनेर पो खाएकी हुँ त, कहाँ गर्भवती भएर हो त ! आमा पनि, के के सोच्नु हुन्छ ।’ भन्दै फेरि हाँस्न थालिन् ।

सासूले पनि बुहारीलाई साथ दिँदै हाँसिन् । तर मनमा अनेक प्रश्न थाँती राखेर ।