“अब तिम्रो पालो पुग्यो, तिमीले त्यहाँ बसिरहनु उपयुक्त छैन, तल ओर्लनैपर्छ ।”

माथि उक्लिन पालो पर्खिरहेकाहरूले एकै स्वरमा भने ।

ऊ भने टसमस नगरी शिखरमा बसिरह्यो । त्यो देखेर सबै आश्चर्य मान्न थाले । 

“त्यो शिखरमा बस्न पाउने सबैको बराबर अधिकार छ । यो एकजनाको मात्रै होइन, साझा भएपछि साझा नै कायम गर्नुपर्छ ।” असन्तुष्टि जनाउँदै फेरि पनि धेरैजनाले एकैपटक आवाज उठाए तर पनि उसले केही वास्ता गरेन । किनभने ऊ त्यो शिखरमा आजीवन बस्न चाहन्थ्यो । मानौँ ऊ मात्रै त्यसको एक्लो हकदार हो ।

उसको त्यस किसिमको हठ देखेर शिखरको दावेदारहरू एक प्रकारले ऊदेखि क्षुब्ध भए तापनि उनीहरू सिधै प्रतिकार गर्न चाहिँ सक्दैनथे । कारण थियो कि उसका केही हनुमानहरू उसकै पक्षमा ढाल बनेर उभिएका थिए । 

यसै बीच एकदिन अकस्मात भयङ्कर भूकम्पसँगै आँधी पनि आयो । बसिरहेको शिखरबाट ऊ तल खस्यो । शिखरबाट तल खसेको तीन दिनसम्म ऊ बेहोस भयो । होसमा आएपछि उसले देख्यो, ऊ बसेको शिखरमा अरू कोही चढिसकेको थियो ।