आज मङ्सिर ४ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि जनप्रतिनिधि चुन्ने दिन । मतदानको लागि मतदान केन्द्रतर्फ जाँदै थिएँ । साइँली फुपू पिँढीमा घाम तापेर बसेको देखेँ । फुपूलाई ढोगेर जाऊँ भनी उहाँको घरमा छिरेँ।

“कति छिट्टै भोट हालेर आइसक्नु भएछ त फुपू ?” फुपूको बुढी औँलाको नङमा मसी लागेको देखेपछि मैले सोधेँ।

मित्र ‘उराठी’ गौतम

“हालेर आएँ बाबु ।” फुपूको जवाफ।

“म पनि जान लागेको छु । केमा भोट दिने होला ? सल्लाह दिनु त फुपू ।” फुपूको मन चोर्ने भावमा सोधेँ ।

“माथ्लारे प्रधानले सूर्जे भगवान हुन् त्यसमा भोट हाल्नु पर्छ भनेका थे । डाँडाचौरका सम्धीले पिपल त विष्णु भगवान हुन् त्यसमा भोट हाल्नु भन्नुभथ्यो । सहरबाट अस्ति आएको नातिले बुढेसकालको सहारा लौरो हो त्यसमा भोट हाल्नु पर्छ भन्थ्यो । तल्लारे सान्नानीले पूजा गर्दा बजाउने त घण्टी हो नि घण्टीमा हाल्नु भन्थी । पण्डित कान्छाले गाईको पुच्छर समाएर वैतर्नी तरिन्छ त्यसैले गाईमा भोट हाल्नु पर्छ भन्थे …।”

फुपूले लामो कुरा गर्न लागेको देखेर मैले छोट्याउने हेतुले सोधेँ, “अनि केमा हाल्नु भो त भोट ?”

“सबैसँग हुन्छ हुन्छ भनेकी थेँ । यो बुढेसकालमा झुट बोले पाप लाग्छ । किन कसैलाई काखा, कसैलाई पाखा गर्नु ? सबैले जिते पो राम्रो होला, विकास होला, शान्ति होला । त्यसैले मैले त सूर्जेमा, रूखमा, लौरोमा, घण्टीमा, गाईमा दिएँ बाबु।”