“गोपाल अङ्कल ! आरामै हुनु हुन्छ ?” भन्दै उसले औपचारिक कुराकानी सुरुवात गर्यो ।

गोपाल अङ्कल उसको बाबाको साथी हुनुहुन्थ्यो ।

“आहा कति समय पछि सम्झना आएछ त । ज्यादै खुसी लाग्यो । भन के छ खबर ?”गोपाल अङ्कलले पनि सोध्नु भयो ।

“ठिकै छ हाम्रो खबर, अङ्कल । दुवै जना व्यस्त छौँ । फुर्सद पनि हुँदैन । अर्को वर्ष बाबु र त्यसको दुई वर्ष पछि नानी युनिभर्सिटी जान्छन् ।” उसले जवाफ दियो ।

“कहिली आउने कार्यक्रम छ त यता ? बुबाले पनि न्यास्रो मान्नु भएको छ ।” गोपाल अङ्कलले सोध्नुभयो ।

“हो त नि । के गर्ने ? भनेको बेलामा फुत्किन पनि नसकिने । आउन त मन थियो । यही विषयमा हजुरसँग सल्लाह गरौँ भनेर फोन गरेको ।” उसले भन्यो ।

“भन न त कस्तो सल्लाह होला ।” गोपाल अङ्कलले भन्नुभयो ।

“अब केही दिन घुम्न र देख्न त हुने, सधैँका लागि बुबा यहाँ बसेर पनि नरमाउने हामी पनि आइराख्न नपाइने । बुबालाई त्यतै व्यवस्थित गर्नु पर्यो ।” उसले भन्यो ।

“गर्नुपर्ने गरेकै छौ बाबु । कस्तो व्यवस्थित गर्ने त ?“ गोपाल अङ्कलले सोध्नुभयो ।

“मिल्छ भने बुबाको अर्को विवाह गरिदिनु पर्यो ।” उसले भन्यो ।