“बाउ हौ ! एउटा कट्टु किनिदेऊ न !” कटकटिएको बाहुलाले सिँगान पुछ्दै भुन्टेले भन्यो ।

अँगेनाको अगुल्टो ठोस्दै, “तेरी आमालाई एउटा मजेत्रो किन्न सकिएको छैन…” भुजेल कान्छोले मनमनै भन्यो ।

थालमा फ्याप्लो पस्किंदै “उ हेर त ! ‍‍‍‍… भाग्न आँटिसके” प्याकुलीले भुन्टेको गुप्ताङ्ग देखाइन् ।

कान्छीको चोलोबाट लाजले पनि चियाउँदै थियो । कान्छाले पुर्पुरोमा हात लगाएर फ्याप्लो खाएको घुँडोले हेरिरहेको थियो ।

“ल्याउन त हुन्थ्यो नि !..” भुजेल कान्छो फतफतायो।

“त्यही भाले बेचेर भए पनि ल्याइदेऊ न त” कान्छीले समाधानको उपाय बताई ।

निदाएको भुन्टेको दुई तिघ्रा पछाडिको कुरीकुरी,  यो छलफलमा सहभागी थियो । भुन्टेले नसुने पनि कुरीकुरी खुशी भयो  ।

इटहरी, सुनसरी