“सबैका जागिर पाँच बजे सकिन्छ, तिम्रो भने जहिल्यै रात पर्छ ।” रमा चिढिँदै बोलिन् । बुहारी घर आउन ढिला भएकाले उनी छटपटिएकी थिइन् । हस्याङफस्याङ गर्दै घर आएकी बुहारी सोझै भान्साभित्र पसिन् ।

“खोइ, हाम्री भाउजूको ओभर टाइम भएकाले रात नपरी सकिँदैन होला नि ।” माइत आएकी छोरीले छेड हानिन् ।

भान्साबाटै बुहारीले सोधिन् “आज के पकाऊँ आमा ?”

धेरै दिनपछि छोरी माइत आएकी थिइन् । छोरीलाई सिन्की र तामा चौपट्टै मन पर्थ्यो ।

“तरुवा, फुलौरा जे-जे पकाए पनि सिन्की र तामा पकाउन भने नछाड्नु है ।” बुहारीलाई निर्देश दिँदै रमाले भनिन् ।

बुहारीले बजारबाट पनिर ल्याएकी थिइन् । उनी रनभुल्लमा परिन् । दाल र चामल बसाले पछि माइतमा आमालाई फोन लगाइन् । फोन गरेको थाहा पाएर छोरीले रमालाई पोल लगाइन्, “हामीसँग एक शब्द बोलिनन् भाउजू, उता भान्सामा पसेर माइतमा हाम्रो कुरा लगाउँदै छिन् ।”

रिसाउँदै भान्सा पुगेकी रमाले सोधिन्, “के हो चाला, कसलाई के कुरा लगाउँदै हो महारानी ।”

हत्तपत्त फोन लुकाउँदै बुहारीले स्पष्ट पार्न खोजिन्, “केही होइन, आमासँग कुरा गरेको हो ।”

“आमा हो भन्ने त बुझियो, चुक्ली पो के–के लगायौ ?” रमा जङ्गिइन् ।

निकै केरकार गरेपछि अप्ठ्यारो मान्दै बुहारीले भएको कुरा बताइन्, “सिन्की र तामा पकाउन नजानेकीले आमालाई सोध्दै थिएँ ।”