मलाई कविता लेख्न
बाध्य नबनाऊ भन्छु
तर तिमी
के–के हो, के–के गर्छौ ।
तिमी आफैँ बोल्दैनौ,
अरूलाई बोल्न लगाउँछौ
र आफू
मौन बसेको अभिनय गर्छौ ।
अझै मेरा बा
खेतबारी खनेर
गाईभैँसी गनेर
चार बिस उमेर काटिसकेपछि पनि
कृषि बैंकको किस्ता तिर्न
शहरतिर हिँड्दैछन्
त्यो बाको रहर होइन
व्यवस्थाको बाध्यता हो ।
रोजगार नपाएर
बाका पसिना लिलाम भए

म यहाँ
आफ्नै पसिना बेचिरहेको छु ।
उता बिजुलीमा कर
किसान हुन सहुलियत ऋणका लागि
न्यूनतम दुई करोडको सिलिङ
केटाको स्कुलमा कर
आमाको दबाइमा कर
र मेरो हात
पुर्पुरोमा अडिएको छ ।
सोच्छु
मेरा बाका हात
अहिले कहाँ होलान् ?
कुनै फारामको लाइनमा ?
कि अझै
माटो समातेरै
देश पालिरहेछन् ?