निहत्था पशुहरू लखेटी लखेटी नृशंस हत्या गरी खाने सिंह पशुहरूको राजा बनेको थियो । चारैतिरबाट सिंह विरुद्ध ब्वाँसा, स्याल र अरू पशुको सामूहिक विद्रोह शुरू भएपछि सिंहले आफ्नो गद्दी परित्याग गर्यो र निर्वाचनको घोषणा गर्यो । निर्वाचनमा एकथरीले राजा बलियो चाहिन्छ भनी सिंहलाई नै निर्वाचनमा भाग लिन अनुरोध गरे भने अर्को थरीले चलाक र लडाकु पशुहरू मध्ये कसैलाई उम्मेदवार बनाउने निधो गरे ।
निर्वाचन भयो । अन्ततः केही ब्वाँसा र स्यालहरूले विजय प्राप्त गरे । ब्वाँसाहरूको बहुमत नपुगेपछि स्यालहरूको सरकार बन्यो । एउटा शक्तिशाली स्याल प्रधानमन्त्री बन्यो । स्यालहरू स्वभावैले बढी फुर्तीफार्ती गर्छन् । उनीहरूले मानिसले जस्तै भ्रातृ संगठन तथा विभिन्न दलगत संघ, संस्थाहरू निर्माण गरे । पशु अधिकारको दुरुपयोग नहोस् भनी उनीहरूले पनि पशु अधिकार आयोग गठन गरे ।
विभिन्न उच्च ओहदामा स्यालहरूको नियुक्ति भएको थियो । एउटा धूर्त स्याल मन्त्रीले आफ्नो पदको दुरुपयोग गरी केही स्यालहरूबाट रकम सङ्कलन गरी उनीहरूकै हितको निम्ति खर्च गर्ने भनी घोषणा गर्यो । उसले आफ्ना कर्मचारी मार्फत रकम सङ्कलन गर्यो । त्यो रकम उसले आफ्नो जीवनस्तर उच्च राख्न आफ्नै सुख, सुविधामा खर्च गर्यो । स्यालहरूबाट सङ्कलिन रकम उसले दुरुपयोग गरेको थाहा पाएपछि ऊ कारबाहीमा परी पक्राउ गर्यो । पक्राउ परेपछि उसलाई स्यालका वकिलहरूले बयानको निम्ति ठाउँठाउँ जङ्गल घुमाए । उसले पशु अधिकार आयोगमा पशु वकिलहरूले रात विरात आफूलाई सुत्न नदिई हिँडाएकोले पशु अधिकारको हनन भएको उजुरी दियो ।
उसले आफ्ना साथीहरू तथा छिमेकीहरूको भीड जम्मा गर्यो र सरकार विरुद्ध नारा लगाउन आदेश दियो, स्याल सरकार मुर्दावाद । पशु अधिकार जिन्दावाद । यहाँ पनि उसले अधिकारको दुरुपयोग गर्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










